दुईवर्षे कार्यकालमा जे गरेँ

नेपाल भेटेरिनरी एशोसिएसनको मेरो दुईवर्षे कार्यकाल पूरा हुँदैछ । मेरो यो कार्यकाल धेरै–धेरै सफल भयो भनेर घमण्ड गर्दिनँ । तर असफल भएँ पनि भन्दिनँ । मेरो मूल्यांकनमा दुईवर्षे कार्यकाल औसतभन्दा माथि नै रह्यो ।
एनभिएको अघिल्लो अधिवेशनमा अन्य महासचिव, सचिव, कोषाध्यक्षका उम्मेदवारले धेरै वाचा गर्नुभएको थियो होला । अध्यक्षको प्रत्यासीका रूपमा उभिँदै गर्दा मैले जम्माजम्मी तीन कुरा भनेको थिएँ । एउटा, भेटेरिनरी एशोसिएसनको सीतापाइलाको भवन भरसक सम्पन्न गर्ने । त्यसलाई सुरु गरेर हामीले ७० प्रतिशत काम सम्पन्न गरेका छौं । त्यसको बाँकी ३० प्रतिशत काम आगामी कार्यसमितिले गर्नेछ । यसर्थ मेरो विचारमा त्यसमा म असफल भएको छैन । बरु धेरै नै सफल भएँको छु ।

दोस्रो कुरा, दर्तावाल पशु चिकित्सकको निजामती सेवाको प्रवेशबिन्दु मेडिकल डाक्टरसरह आठौं तह बनाउने भन्ने थियो । यसका लागि हामीले धेरै पहलकदमी लियौं । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा गएर आफ्‌ना कुरा राख्यौं । त्यहाँका सबै माननीयज्यूहरू कन्भिन्स पनि हुनुभयो । मौखिक रूपमा उहाँहरूले हाम्रो कुरा स्वीकार गरे पनि लिखित रूपमा फरक गर्नुभयो । मेडिकल र आयुर्वेद चिकित्सक स्वास्थ्य सेवा ऐनअन्तर्गत भएकाले निजामती सेवा ऐनअन्तर्गतका पशुचिकित्सकलाई सो सुविधा उपलब्ध गराउँदा अन्य समस्या देखिने, बजेटले नधान्ने कुरा गर्नुभयो । तथापि, उहाँहरूले हाम्रो कुरा ग्रहण गर्नुभएको छ । अब यो विधेयक प्रतिनिधिसभामा पेश हुँदैछ । त्यसपछि त्यहाँबाट राष्ट्रियसभामा जानेछ । मलाई लाग्छ, आगामी टिम जुझारु आउनेछ । त्यसलाई राष्ट्रियसभामा संशोधन गराउने क्षमता नेपाल भेटेरिनरी एशोसिएसनले राख्छ । यसमा हामी लाग्नुपर्छ ।

यो ध्रुर्वसत्य हो कि मेडिकल चिकित्सक र भेटेरिनरी चिकित्सकको तहमा विभेद हुनुहुँदैन । यो कुरामा विधायकलाई कन्भिन्स गरिएको छ । यद्यपि, हाम्रो उद्देश्य पूरा हुन बाँकी छ । अझै संघर्ष गरेर राष्ट्रियसभामा करेक्सन गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।एनिमल प्रोडक्सन, न्युट्रिसिन, ब्रिडिङवाला बिएससी, एग्रिकल्चर, एनिमल साइन्समा एमएससी, पिएचडी गरेकाहरू पशु स्वास्थ्य सेवा व्यवसायी परिषद्मा दर्ता हुनुभयो । तर हाम्रो पशु चिकित्सा परिषद्मा पनि भेटेरिनरी विषयलगायत न्युट्रिसिन ब्रिडिङ अध्ययन गर्ने डाक्टर सा’व धेरै हुनुहुन्छ । उहाँहरूको आफ्‌नो भनाइ ठीक होला ।

तर हाम्रो भनाइ के छ भने त्यो योग्यताअनुसारको कामचाहिँ हामीले पाउनुपर्छ । तर उहाँहरू ‘पशु चिकित्सा भनेको भेटेरिनरी, एनिमल हेल्थ मात्र हुन्छ, अरू मात्र हुन्छ’ भन्नुहुन्छ । त्यो कुरा हामी मान्दैनौं । भेटेरिनरीमा एनिमल हेल्थ, पब्लिक हेल्थ, जुनोसिस, प्रोडक्सनलगायत यी सबै कुरा आउँछन् । किनभने, बिभिएस एण्ड एएच भनेको ब्याचलर भेटेरिनरी साइन्स एण्ड एनिमल हजब्याण्ड्री हो । हामीले एनिमल हजब्याण्ड्री पनि उत्तिकै अध्ययन गरेका हुन्छौं । अध्ययन र योग्यताअनुसार पाउनुपर्छ भन्ने कुरा उठाएर हामीले मुद्दा पनि हाल्यौं । सर्वोच्चले ऐनमा गएर त्यसलाई खारेज गरिदियो । त्यसको विस्तृत फैसला आइसकेको छैन । सायद त्यो आउँदै होला । यसमा पनि हामीले आंशिक सफलता पाएका छौं । पशु चिकित्सा परिषद्को जुन विधेयक मन्त्रिपरिषद्मा पुगेको छ, त्यसमा लगेर सच्याएका छौं । त्यसमा पनि हामी सफल भयौं भन्ने लाग्छ । कतिपय कुरा अझै पूरा हुन बाँकी छन्, त्यसलाई पूरा गर्न हामी लाइनमा छौं । सारमा भन्नुपर्दा महत्वपूर्ण कुरा लाइनमा छन्, सफल हुने क्रममा छन् ।

भेटेरिनरी क्षेत्रमा यस्ता यस्ता इस्युहरू छन् । सरकारसँग संघर्ष नगरीकन यो देशमा धेरै काम नहुने देखिन्छ । त्यसैले अबको कमिटी यस्तो आउनु पर्छ, जसले आफ्‌नो कुरा इन्फ्‌लुएन्स गरेर मन्त्रालय, प्रधानमन्त्री कार्यालयलगायत आवश्यक ठाउँमा राख्न सकोस् । त्यस्तो टिम आयो भने धेरै सफल हुनेछ । निवर्तमान अध्यक्ष पनि कार्यसमितिमा रहने हाम्रो विधान छ । मैले पनि त्यसमा पछाडि बसेर सहयोग गर्ने कुरा छँदैछ ।
मेरो टिम अत्यन्तै सक्रिय र जुझारु हुनुहुन्छ । विभिन्न अवस्था आए पनि साथ दिनुभयो । उहाँहरू सबैलाई म धन्यवाद दिन्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *