नेपाल भेटेरिनरी एशोसिएसन केन्द्रलाई प्रदेशको सुझाव ?

नेपाल भेटेरिनरी एशोसिएसनको प्रदेश तहमा समिति रहे पनि अझैसम्म सबै चिकित्सकहरू गोलबद्ध हुन सकेका छैनन् । केन्द्रले सबैलाई समेट्नेतर्फ ध्यान नदिनु, संस्थामा अपेक्षित पारदर्शिता नहुनुलाई जानकारहरू यस संस्थाप्रतिको आकर्षण बढ्न नसक्नुको कारण ठान्छन् । यसै सन्दर्भमा हामीले एनभिएको सातै प्रदेशका अध्यक्षलाई सम्पर्क गरेर नयाँ केन्द्रीय कार्यसमितिसँग यहाँहरूको अपेक्षा के छ भनेर सोधेका छौं :
आगामी नेतृत्वबाट सहयोग मिल्ने अपेक्षा छ
डा. अजय कुमार साह
अध्यक्ष
एनभिए, कोशी प्रदेश
नेपाल भेटेरिनरी एशोसिएसन, केन्द्रीय समिति र प्रदेश समितिबीच समन्वयमा काम हुँदै आइरहेको छ । प्रदेश अध्यक्ष केन्द्रको पदेन सदस्य हुने प्रावधान हाम्रो संगठनमा छ । प्रदेशमा कुनै समस्या भएको खण्डमा हामीले सहकार्यमार्फत त्यसलाई समाधान गर्ने गरेका छौं ।
एनभिएको अधिवेशन यही जेठ १७ गते हुँदैछ । कुनै पनि संगठनलाई नयाँ दिशा दिने अवसरका रूपमा अधिवेशनलाई लिने गरिन्छ । मेरो विचारमा एनभिएको यो अधिवेशनमा चार विषय मुख्य एजेण्डा बन्नु पर्छ ।
हामीले जस्तो कार्य गरे पनि हाम्रो लक्ष्य र उद्देश्य भनेको पशु चिकित्सकहरूको संरक्षण हो । दोस्रो कुरा भनेको प्रवद्र्धन, तेस्रो एड्भान्समेन्ट र चौथो एड्भोकेसी हो । यी विषयलाई जेठ १७ मा हुने महाधिवेशनले उठाउनु पर्छ ।
मैले माथि उल्लेख गरेका मुद्दा सम्बोधन गर्न सक्ने नेतृत्व अबको अधिवेशनबाट चयन हुनु पर्छ ।
प्रदेशमा विभिन्न समस्याहरू हुन्छन् । ती समस्यालाई सम्बोधन गर्न आगामी नेतृत्वले सहयोग गर्नेछ भन्ने अपेक्षा हामीले लिएका छौं ।
त्यो कुरा अहिले भन्न मिल्दैन
डा. दिनेशकुमार तिवारी
अध्यक्ष
एनभिए, मधेस प्रदेश
प्रदेशमा भर्खर नयाँ कार्यसमिति बनेको छ । केन्द्रमा पनि जेठ १७ गते हुने अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । सबैतिर नयाँ कार्यसमिति बनेपछि हाम्रो ट्युनिङ मिल्नेछ । केन्द्रसँग पहिले पनि समन्वयमा काम हुने गरेको थियो । अब पनि राम्रै समन्वय हुनेछ भन्ने मेरो विश्वास छ ।
जेठ १७ गते एनभिएको अधिवेशन हुँदैछ । यसका मुद्दा के हुनुपर्ला भन्ने विषयमा पनि बहस छलफल भइरहेका छन् । मेरो विचारमा पशु चिकित्सकको पेशागत हकहित यसको पहिलो विषय बन्नु पर्छ । सँगै पेशालाई मर्यादित बनाउनेबारे पनि अधिवेशनमा छलफल गर्नुपर्छ ।
पशुपन्छी क्षेत्रको समग्र विकासका लागि पशु चिकित्सक र पशु प्राविधिक दुवैको भूमिका रहन्छ । दुवैले मिलेर काम नगरेसम्म यो क्षेत्रको विकास हुँदैन । त्यसैले यी दुई पक्षबीच अविश्वास होइन, विश्वास बढाउने काम हुनुपर्छ । पशु चिकित्सकले पशु प्राविधिकले केही जानेको छैन, हामीले मात्र जानेको छौं भन्नु हुँदैन । अनि प्राविधिकले पनि पशु चिकित्सकले केही जान्दैन, हामी जान्दछौं भन्नु हुँदैन । मेडिको सरह हामीलाई मान्यता नदिनुको कारण एकआपसमा द्वन्द्व हुनु पनि हो । यो मनोमालिन्य अन्त्य गरेर अघि बढ्न सकियो भने मात्र समग्र पशुपन्छी क्षेत्रको विकास हुनेछ । त्यसैले यो पेशालाई कसरी सुदृढ, निःस्वार्थहीन ढंगले अगाडि लैजान सकिन्छ भन्नेबारे अधिवेशनमा पक्कै पनि छलफल हुनेछ ।
एनभिएको अबको नेतृत्व माथि उल्लिखित मुद्दा उठाएर त्यसलाई पूरा गर्न सक्ने खालको हुनुपर्छ ।
केन्द्र र प्रदेश समितिबीच एनभिएमा समन्वय राम्रो छ । तथापि, कहीँ न कहीँ थोरै ग्याप भने छ । त्यो कुरा अहिले मैले भन्न मिल्दैन । त्यो ग्यापलाई निरुत्साहित गर्दै प्रदेश कमिटीलाई पनि सशक्त बनाएर नयाँ नेतृत्वले अगाडि लैजाओस् भन्ने मेरो चाहना छ । प्रदेश समितिले कुनै कार्यक्रम सञ्चालन गर्दा, पशु चिकित्सक समस्यामा पर्दा केन्द्रले अहिलेसम्म केही गर्न सकेको छैन । नयाँ नेतृत्वले प्रदेशमा आइपरेको समस्या समाधान गर्न भूमिका खेल्नेछ भन्ने आशा अनि मैले गरेको छु ।
सबैलाई समेट्ने नेतृत्व चयन होस्
डा. निमेश खनाल
अध्यक्ष
एनभिए, बागमती प्रदेश
प्रदेशमा विभिन्न समस्या छन् । प्रदेश अध्यक्ष केन्द्रको पदेन सदस्य हुने भएकाले हामीले केन्द्रमा लगेर त्यसबारे छलफल गर्ने गरेका छौं । प्रदेशका समस्या केन्द्रलाई भन्ने र केन्द्रले त्यसमा समन्वय गर्ने प्रचलन एनभिएमा छ ।
पशु कल्याण र पशु चिकित्सकको हकहितको विषय एनभिएको यो महाधिवेशनको एजेण्डा बन्नुपर्छ । सबैलाई समेटेर अघि बढ्न सक्ने नेतृत्व एनभिएको महाधिवेशनबाट चयन होस् भन्ने हाम्रो चाहना छ ।
एनभिए पारदर्शी नहुँदा भेटेरिनरियनले अपनत्व लिएनन्
डा. रूपेश श्रेष्ठ
अध्यक्ष
एनभिए, गण्डकी प्रदेश
म प्रदेश नेतृत्वमा भर्खर आएको हुँ । चार वर्षअघि प्रदेश उपाध्यक्ष भए पनि बीचमा लमजुङतिर लागेँ । त्यसैले केन्द्रतिरको बारे मलाई धेरै जानकारी छैन ।
प्रदेशमा पशु चिकित्सकका विभिन्न समस्या छन् । पालिकामा पशु चिकित्सकको व्यवस्था गरिएको छ । तर उहाँहरूमा आफ्ना कुरा, योजनासँग सम्बन्धित विषय बुझाउन सक्ने क्षमता देखिँदैन । एउटा त अवसर नपाएर र अर्कोचाहिँ एक्सपोजर नपाएर उहाँहरूले क्षमता विकास गर्न नसकेको देखिन्छ ।
कम्पिटेन्ट भेटेनरियनहरूलाई प्राविधिक ज्ञान मात्र होइन, व्यवस्थापकीय समस्या हुने सरकारी, गैरसरकारी क्षेत्रमा कसरी डिल गर्ने भन्ने कुरामा एक्सपोजर चाहिन्छ । मैले जिल्ला–जिल्लामा पुगेर काम गर्दा महसुस गरेको कुरा हो यो ।
एनभिएको यो अधिवेशनले आफ्नो पेशालाई मर्यादित बनाउन भूमिका खेल्नुपर्छ । उदाहरणका लागि बेला–बेलामा भेटेरिनरी प्रमाणपत्रको कुरा आइरहेको हुन्छ । म कार्यरत स्याङ्जाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूसँग कुराकानी हुँदा भेटेरिनरी प्रमाणपत्रको धेरै नै कुरा आउँछ । केन्द्रको त मलाई त्यति थाहा भएन तर गण्डकी प्रदेशमा विशेषगरी सुरक्षा निकाय र सरोकारवालालाई भेटेरिनरी चिकित्सकको रोस्टर र जिल्लामा कार्यरतको नामावली उपलब्ध गराइयो भने यसमा राम्रो गर्न सकिन्छ भन्ने लाग्छ । निरन्तर शिक्षा पनि उत्तिकै जरुरी छ ।
सरकारी सेवामा लामो समयदेखि पशु चिकित्सक पद छ । पशु चिकित्सक विश्वविद्यालयले दिने भेटेरिनरी डाक्टर हो । तर जेटिजेटिए पढेका, भेटेनिरी विषय नपढेकालाई पनि पशु चिकित्सकको मान्यता दिँदा गोलमाल छ । अझै प्रदेशतिर त आ–आफ्नो कानून बनाएर स्किल टेस्टका भरमा पशु चिकित्सकमा बढुवा गर्ने गरिएको छ । प्रदेशैपिच्छे फरक फरक व्यवस्था भएकाले पशु चिकित्सकको मनोबल गिर्दो छ । यसलाई हल गर्न केन्द्रबाटै पहल गर्नुपर्ने देखिन्छ ।
अर्को महत्वपूर्ण कुरा एनभिएको फण्ड र निर्णय प्रक्रियामा पारदर्शिता देखिँदैन । यही कारण धेरै पशु चिकित्सकले वनरसीप महसुस गर्नुभएको छैन । त्यसैले यसमा उहाँहरूको आबद्धता छैन । उदाहरणका लागि हाम्रो आफ्नै भवन निर्माणमा १४००/१५०० पशु चिकित्सकमध्ये २०० मात्र सहभागी हुनुभयो । यसले नेतृत्वले सबैलाई समेट्न नसकेको देखाउँछ । संगठनलाई जवाफदेहिता, पारदर्शिता र सहभागितामूलक ढंगले हिँडाउन सक्ने नेतृत्व एनभिएलाई आवश्यक छ । यस्तो नेतृत्व भयो भने मात्र सबैको अपनत्व रहनेछ ।
प्रदेशमा कुनै कार्यक्रमका लागि आर्थिक संकलन गर्दा केन्द्रमा पठाएर त्यहाँबाट पुनः प्रदेशमा ल्याउनुपर्ने अवस्था छ । प्रदेशलाई स्वतन्त्र ढंगले काम गर्ने वातावरण आगामी नेतृत्वले दिनेछ भन्ने हाम्रो चाहना छ ।
आठौं तह बनाउन भूमिका खेलिदिए हुन्थ्यो
डा. उमेश गिरी
अध्यक्ष
एनभिए, कर्णाली प्रदेश
नेपाल भेटेरिनरी एशोसिएसन पशु चिकित्सकहरूको छाता संगठन हो । भेटेरिनरियनको हकहित रक्षा यसको मूल उद्देश्य भएकाले यो अधिवेशनको एजेण्डा पनि यही विषय बन्नु पर्छ ।
हरेक क्षेत्र परिवर्तनशील हुन्छ ।
भेटेरिनरी क्षेत्रमा पनि नयाँ कुरा आइरहेका छन् । भेटेरिनरी क्षेत्र परम्परागत ढंगले चलिरहेकाले विकास भएका नयाँ कुरा अवलम्बन गर्नेतिर सोच्नु पर्छ ।
पशु स्वास्थ्य ऐन छुट्टै लागू गर्नुपर्ने आवश्यकता अहिले छ । तर ऐन निर्माणमा प्रगति भएको छैन । एनभिए अधिवेशनले यो विषयलाई गम्भीरतापूर्वक लिएर बहस तथा विमर्श गर्नुपर्छ ।
पशुपन्छीको उपचारमा अहिले चिकित्सक र प्राविधिक संलग्न छ । तर कसले के काम गर्ने भन्ने स्पष्ट छैन । यसले पशुपन्छीको उपचारमा अन्योलता सिर्जना गरेकाले नेपाल पशु चिकित्सा परिषद् र एनभिए मिलेर यसलाई स्पष्ट बनाउनु पर्छ । अधिवेशनमा यसबारे पनि छलफल होस् ।
एनभिएमा नराम्रो कोही छैन । सबै राम्रा छन् । यसमा सबै विज्ञ हुन्छन् । काम गर्न पनि जानेका हुन्छन् । तर नेतृत्वमा यति कुरा भएर मात्र पुग्दैन । समय दिनसक्ने, संगठनलाई सशक्त रूपमा चलाउन सक्ने खुबी पनि हुनु पर्छ । पशुपन्छी क्षेत्रको भलाइ गर्ने, संगठनलाई चलायमान गराउन सक्ने दरिलो व्यक्ति एनभिएको नेतृत्वमा आइदिए हुन्थ्यो ।
पशु चिकित्सकको प्रवेशबिन्दु आठौं तहबाट हुनुपर्छ । यो मुद्दा अहिले कर्णालीमै छ । केन्द्रले यसमा पहल गरेर प्रवेशबिन्दू आठौं तह बनाउन भूमिका खेलिदियो भने हाम्रा लागि त्यो ठूलो उपलब्धि हुने थियो । यो कुरा हामीले केन्द्रमा राखिरहेका पनि छौं । उहाँहरूले सुनिरहनुभएको छ ।
काठमाडौं धाउँदा दुःख पाइयो, प्रदेशमा पनि चुनाव होस्
डा. विनोदबहादुर कठायत
अध्यक्ष
एनभिए, सुदूरपश्चिम प्रदेश
सर्वप्रथम त मलाई यो स्थान दिनुभएकोमा भेट टाइम्स मासिकलाई धेरै धेरै धन्यवाद ।
एनभिए, सुदूरपश्चिम संख्याका हिसाबले कम पशु चिकित्सक भएको प्रदेश हो । संख्या कम हुँदा सेवा प्रवाहमा कठिनाइ भइरहेको छ ।
सरकारी सेवामा भेटेनरियनका लागि सबै प्रदेशमा लोक सेवा आयोगबाट सिफारिस भएर नियुक्त भइसके पनि सुदूरपश्चिममा अझै हुन सकेको छैन । यसमा केन्द्रीय समितिले भूमिका निर्वाह गरिदिए हुन्थ्यो भन्ने हाम्रो अपेक्षा छ ।
पशुपन्छी क्षेत्रको विकास हुन भेटेनरियनको हित रक्षा हुनुपर्छ । त्यसैले एनभिएको यही जेठ १७ गते हुन गइरहेको अधिवेशनको मुद्दा पशु चिकित्सकको हकहित हुनुपर्छ ।
देश संघीय प्रणालीमा गइसकेको छ । तर हाम्रो अधिवेशनचाहिँ संघमा मात्र हुने गरेको छ । प्रत्येक प्रदेशमा त्यस्तो अधिवेशन हुनुपर्ने भए पनि हुन सकेको छैन । देशका दूरदराजबाट काठमाडौं आउन अप्ठ्यारो हुने भएकाले अर्को पटक सात वटै प्रदेशमा चुनाव गरियोस् भन्ने आग्रह गर्न चाहन्छु ।
पशु चिकित्सा प्राविधिक फिल्ड हो । यसमा नयाँ कुरा विकास भइरहेका हुन्छन् । पशु चिकित्सकलाई अपडेटेड गराउन तालिमलगायतको व्यवस्था एनभिएको आगामी नेतृत्वले गर्नेछ भन्ने विश्वास मैले लिएको छु ।