चुनाव जितेर म पनि काठमाडौं आउन सक्छु

नेपाल भेटेरिनरी एशोसिएसनका केन्द्रीय सचिव डा. शंकर न्यौपानेले यस पटक महासचिवमा उम्मेदवारी दिएका छन् । पेशागत हकहितको रक्षाका खातिर आफूले यो पदमा उम्मेदवारी दिएको उनी बताउँछन् ।
प्रस्तुत छ, उम्मेदवारीका विषयमा डा. न्यौपानेसँग गरिएको कुराकानी :
एनभिएको महासचिवमा यहाँले उम्मेदवारी दिनुभएको छ । खासमा यो उम्मेदवारी केका लागि हो ?
पेशागत हकहित र भेटेरिनरी क्षेत्रको नीतिगत सुधारका लागि महासचिवमा मेरो उम्मेदवारी हो ।योभन्दा अगाडि सदस्य हुँदै सचिवमा पनि काम गरेँ । यसबाट एक किसिमको अनुभव पनि भयो । युवा साथीहरू, अग्रज भेटेरिनरियन र नीति निर्माताहरूलाई लिङ्केज गर्न योग्य छु भनेरै उम्मेदवारी दिएको हुँ ।
एनभिएको अध्यक्ष तथा अन्य पदहरू सहमतिका आधारमा चुनेको भए हुन्थ्यो भन्ने मत सुनिन्छ । समझदारीमा नगएर किन प्रतिस्पर्धामा उत्रनुभएको ?
सहमतिका लागि प्रयास गरियो । तर योगदान गर्न चाहने व्यक्ति धेरै भइसकेपछि प्रतिस्पर्धामा जानुपर्यो । निर्वाचनको प्रजातान्त्रिक अभ्यासलाई अन्यथा ठान्नु पनि हुँदैन । सहज रूपमा लिनुपर्छ ।
प्यानल बनाएर जाँदै हुनुहुन्छ कि कसरी लड्दै हुनुहुन्छ ?
मेरो त्यस्तो कुनै प्यानल छैन । विशुद्ध व्यक्तिगत हिसाबले महासचिवमा उम्मेदवारी दिएको हुँ । म दुई वर्ष प्रदेश कार्यसमिति, चार वर्ष केन्द्रीय कार्यसमितिमा सदस्य र सचिव हुँदै कुशलतापूर्वक जिम्मेवारी पूरा गरेर आइरहेको छु । देशभरका सबै भेटेरिनरियन साथ सहयोग मलाई छ ।
तपाईंका मुख्य एजेण्डा के–के हुन् ?
मैले दुई–तीन वटा कुरा भनेको छु । मुलुक संघीय संरचनामा गइसकेपछि भेटेरिनरी सेवा संक्रमणकालीन अवस्थामा छ । यसमाथि ठूलो हस्तक्षेप गरेर कमजोर पारियो । यसलाई सबल पार्ने प्रमुख एजेण्डा यही हो ।
दोस्रो कुरा, सरकारी सेवा प्रवेश गर्दैगर्दा भेटेरिनरी चिकित्सकलाई अन्य सरह आठौं तहमा नलिने परम्परा छ । यसबाट पशुचिकित्सकले विभेद महसुस गरिरहेका छन् । पशु चिकित्सकलाई पनि मेडिकल डाक्टर सरह इन्ट्री गराउन मेरो पहलकदमी रहनेछ ।
तेस्रो, भेटेरिनरी सेवालाई अन्तर्राष्ट्रियस्तरको बनाउन हरेक स्थानीय तहमा एउटा भेटेरिनरी अस्पताल र हरेक जिल्लाको विज्ञ केन्द्रमा आधारभूत प्रयोगशालासहितको भेटेरिनरी सेवा उपलब्ध गराउनु पर्ने खाँचो छ ।
साथै भेटेरिनरी क्षेत्रमा नीतिगत सुधार गर्नुपर्ने आवश्यकता छ । पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयन हुन सकेको छैन । केही ऐन निर्माण गर्नुपर्ने साथै औषधि ऐन, दाना ऐन, पशु चिकित्सा परिषद्को ऐन लगायत अन्य ऐन संशोधन गर्नुपर्नेछ । महासचिवमा विजयी भएँ भने नीतिगत सुधारमा पहल गर्नेछु ।
भेटेरिनरी चिकित्सकहरूको क्षमता अभिवृद्धिका लागि कन्टिन्यु एजुकेशन, क्षमता विकासका तालिम सञ्चालन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा एक्स्पोजरका रूपमा अगाडि बढाउने कुरालाई निरन्तरता दिनेछु । भेटेरिनरी पेशाको साख एवं मर्यादालाई अझ माथि लैजान मेरो प्रयास रहनेछ ।
चुनावी परिणाम आफ्नो पक्षमा पर्नेमा कतिको आशावादी हुनुहुन्छ ?
म चुनावको नतिजा आफ्नो पक्षमा पर्नेमा आशावादी छु । धेरै भेटेरेनरियनहरूको मलाई माया तथा सहयोग पाइरहेको छु । चुनावी नतिजालाई हार र जितका रूपमा लिन हुँदैन । परिणाम जस्तो आए पनि हार्दिकताका साथ ग्रहण गर्नुपर्छ ।
भेटेरिनरियनहरूले तपाईंलाई मत किन दिने ?
पहिलो, यो पेशामा मैले आफ्नो बलबुताले भ्याएसम्म कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गरेको छु । र, भोलिका दिनमा पनि पेशागन समग्र भेटेरिनरियन, पेशाको मान, मर्यादा उचो बनाउन र क्षमता अभिवृद्धि गर्न लागिपर्छु । पहिलो कुरा त यही हो ।
दोस्रो कुरा, नीतिगत तहमा हस्तक्षेप गर्नका लागि, माथिल्लो र तल्लो तहका भेटेनरियनहरू सबैसँग लिङ्केज गर्न सक्ने, सबैसँग मिल्न सक्ने, काम गर्न सक्ने व्यक्तित्व भएकाले पनि मलाई भोट दिनुहुन्छ भन्ने विश्वास छ ।
तपाईं सरकारी सेवा, त्यो पनि उपत्यका बाहिर हुनुहुन्छ । महासचिवको जिम्मेवारी निर्वाह गर्न कठिन हुँदैन ?
म जुनसुकै स्थानबाट भए पनि आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गरिरहेको छु । पूरा गर्न प्रतिबद्ध पनि छु । म कुनै राजनीतिक संगठनको नेतृत्व गरेर दोहोरो भूमिकामा पनि छैन । मेरो पूरा समय एनभिएमा लगाउनेछु । साथै निर्वाचित भइसकेपछि काठमाडौंमै उच्च शिक्षा अध्ययन तथा अन्य भूमिकामा आउँदैछु ।अर्को कुरा, यो संस्थाको गतिविधि काठमाडौंभित्र मात्र होइन, देशैभरि हुन्छ । यो कुरालाई पनि हामीले ख्याल गर्नुपर्छ ।
जिम्मेवारीमा जान आकाङ्क्षा देखाउने तर पदमा पुगेपछि फोनसम्म नउठाउने गरेको गुनासो सुनिन्छ । यसबारे के भन्नुहुन्छ ?
मैले अहिलेसम्म त्यसरी कसैलाई पनि असन्तुष्ट हुन दिएको छैन । जति साथीहरूले मलाई विश्वास गर्नुहुन्छ, उहाँहरूको विश्वासलाई धोका नदिने प्रतिज्ञा गर्न चाहन्छु ।
अन्तिममा के भन्न चाहनुहुन्छ ?
संक्रमणकालीन अवस्थामा रहेको भेटेरिनरी सेवाको सुदृढीकरण, पेशागत रूपान्तरण र एशोसिएसनको संस्थागत विकासलाई थप उचाइमा पुर्याउन तपाईंहरू समक्ष आएको छु । आफ्नो अमूल्य मत दिएर मलाई विजयी हार्दिक अनुरोध गर्न चाहन्छु ।