काठमाडौंमा क्रियाशील भएकाले महासचिव म बन्नु पर्छ

अध्यक्षपछिको शक्तिशाली मानिने नेपाल भेटेरिनरी एशोसिएसनको महासचिव पदमा डा. चिरञ्जीवी पन्थले उम्मेदवारी दिएका छन् । काठमाडौंमै भएको र पोलिसी एड्भोकेसीमा केही योगदान गर्न सकिन्छ कि भनेर आफूले महासचिवमा उम्मेदवारी दिएको पन्थ बताउँछन् । पन्थसँग उनको उम्मेदवारीका विषयमा केन्द्रित रहेर भेट टाइम्स मासिकले गरेको कुराकानी :

नेपाल भेटेरिनरी एशोसिएसनको यही जेठ १७ मा हुने महाधिवेशनमा यहाँले उम्मेदवारी घोषणा गर्नुभएको छ । महासचिवमै यहाँको उम्मेदवारी किन ?
हाम्रो पेशामा निकै जटिलताहरू थपिएका छन् । तपाईंहरूलाई अवगत नै छ, विगत २–३ वर्षदेखि तीनै तहको सरकारमा हाम्रो प्रोफेसन जसरी अगाडि बढ्नुपर्ने थियो, त्यसो हुन सकेको छैन । भइरहेकै संरचनाहरू पनि बिना परामर्श खारेजी, हस्तान्तरण तथा मर्जर गरिएको छ । यो अवस्थामा सुधार गर्न, पेशाका चुनौतीहरू सामना गर्न, सरकारी, निजी तथा सामुदायिकलगायत सम्पूर्ण क्षेत्रलाई एकाकार गर्दै अगाडि बढ्न मैले महासचिवमा उम्मेदवारी दिएको हुँ । त्यस्तै, विश्वविद्यालय, विद्यालय शिक्षाको प्राविधिक धार, सिटिइभिटीलगायत हाम्रो प्रोफेसनसँग सम्बन्धित जति पनि छन्, तिनलाई अगाडि बढाउने सोच पनि मैले बनाएको छु ।

एनभिए विशुद्ध पेशागत संगठन हो । यस्ता पदहरू समझदारीमा नटुंग्याएर किन प्रतिस्पर्धामा जानुभएको ?
विगतमा पदमा नरहँदा समेत मैले भेटेरिनरी पेशाका लागि गरेको योगदान र खेलेको भूमिकाले गर्दा अग्रज भेटेरिनरीयनज्यूहरू र अन्य साथीहरूबाट पनि मलाई अनुरोध भएकाले केही योगदान पेशाका लागि गर्नुपर्छ भनेर मेरो उम्मेदवारी आएको हो ।

म अहिले पशु सेवा विभाग, काठमाडौंमा कार्यरत छु । केन्द्रमै उपलब्ध भएकाले यो क्षेत्रको समस्या तथा पोलिसी एड्भोकेसीमा केही योगदान दिन सकिएला कि भन्ने भावनाले पनि मैले आफ्नो उम्मेदवारी दिएको हुँ ।
मसँग प्रतिस्पर्धामा हुनु भएका मित्र हाल प्रदेश सरकारको कर्मचारी हुनुहुन्छ । अहिलेको संवैधानिक तथा कानुनी व्यवस्थाले उहाँको कुनै पनि हालतमा काठमाडौंमा सरुवा हुन सक्दैन, र महासचिव जस्तो कार्यसमितिको सबैभन्दा बढी जिम्मेवार पदमा काठमाडौंभन्दा बाहिर रहेको व्यक्तिले कसरी एशोसिएसनलाई सक्रिय बनाउन सक्ला? केन्द्रीय कमिटीमा उपलब्धता नै हुन सकेन भने संस्था ‘डेड अर्गनाइजेसन’मा नजाला भन्न सकिन्न । यो विषयमा पक्कै पनि हाम्रा विद्वान भेटेरिनरीयनज्यूहरूले मूल्यांकन गर्नुहुनेछ ।

मैले व्यक्तिगत रूपमा समझदारीका लागि प्रयास गरे । अग्रजहरूबाट पनि प्रयास भयो तर लोकतान्त्रिक प्रक्रिया भएकाले यो प्रतिस्पर्धालाई अन्यथा लिनु हुँदैन ।

तपाईंले भन्नुभयो कि काठमाडौंमा भएकाले मलाई काम गर्न सहज हुन्छ । सरकारी कर्मचारी भएकाले तपाईंको पनि त काठमाडौं बाहिर सरुवा हुन सक्छ नि ?
पक्कै पनि पशु सेवा विभागबाट मेरो सरुवा हुनसक्छ । तपाईंले भनेको कुरा एकदमै जायज छ । तर हाम्रो संरचनामा हेर्नुभयो भने संघतर्फका स्पेसलाइज्ड कार्यालयहरू काठमाडौं उपत्यकाकेन्द्रित छन् । भेटेरिनरी कम्प्लेक्स, पशु सेवा विभागका संरचना, ठूला ल्याब, प्रोडक्सन ल्याब काठमाडौं उपत्यकामै छन् । यद्यपि, तपाईंले भनेजस्तो केही कार्यालय बाहिर पनि छन् । उपत्यका बाहिरका ती कार्यालयमा बाहिरकै साथीहरू हुनुहुन्छ । त्यसैले यसमा त्यति ठूलो समस्या पर्छ जस्तो मलाई लाग्दैन ।

प्यानल बनाएर जाँदै हुनुहुन्छ कि कसरी लड्दै हुनुहुन्छ निर्वाचन ?
मैले त्यस्तो कुनै खालको प्यानल बनाइएको छैन ।

तपाईंका मुख्य एजेण्डाचाहिँ के–के छन् ?
संघीयता कार्यान्वयनमा गएपछि तत्कालीन एउटा संरचना पारित पनि भएको थियो । त्यसमा तीनै तहमा भेटेरिनरी सेवालाई उत्कृष्ट सेवाका रूपमा स्थापित गर्ने विषय थियो । तर स्थानीय तहमा जति भेटेरिनरियनहरूको प्रतिनिधित्व हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । प्रदेश संरचनामा पनि सेवालाई चाहिने जनशक्ति व्यवस्थापन भइरहेको छैन । त्यसैले यसबारे एक किसिमको एडभोकेसी गर्ने मेरो योजना छ ।
मेडिकल क्षेत्रमा सेवा प्रवेश नै आठौं तहबाट सुरु हुन्छ । तर पशु चिकित्सकलाई यो सुविधा छैन । मेडिकल क्षेत्रमा जस्तै पशु चिकित्सा क्षेत्रको सेवा प्रवेश पनि आठौं तहबाट हुनुपर्छ । यसका लागि आफ्‌नोतर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता तपाईंमार्फत व्यक्त गर्न चाहन्छु ।

अहिले एन्टिमाइक्रोबिएल रेजिस्टेन्स (एएमआर) को जटिलता अत्यधिक रूपमा बढेको छ । एन्टिबायोटिक्सको विवेकसम्मत प्रयोगका लागि स्पष्ट नीति नबनाउने हो भने यो अवस्था थप बिग्रने देखिन्छ । यसतर्फ पनि योगदान दिने मेरो सोच छ ।

त्यसैगरी, प्रत्येक स्थानीय तहमा एक भेटेरिनरी अस्पताल स्थापना गर्न, निजी क्षेत्रमा कार्यरत भेटेरिनरी चिकित्सकको न्यूनतम तलब कायमका लागि मापदण्ड बनाउन, पशु चिकित्सकको पलायन रोक्न पहल गर्नेलगायत योजना पनि मैले बनाएको छु ।

चुनावी परिणाम आफ्‌नो पक्षमा पर्नेमा कतिको आशावादी हुनुहुन्छ ?
महासचिव पदमा मेरो जित हुनेमा म निकै आशावादी छु ।

तपाईंका जितका आधारहरू के–के हुन् ?
उपलब्धताका हिसाबले म विगत ६–७ वर्षदेखि काठमाडौंमै छु । आगामी दुई वर्ष पनि यही रहन्छु भन्ने मेरो अनुमान छ । केन्द्रीय समितिमा केन्द्रमै बस्ने व्यक्ति उपलब्ध हुनुपर्छ भन्ने हिसाबले पनि भेटेरिनरियनहरूले मलाई न्याय गर्नु हुनेछ भन्ने ठानेको छु ।

म पटक–पटक कमिटीमा बसेर काम गरिसकेको व्यक्ति होइन । त्यसैले काम गर्नका लागि सबै भेटेनरियनहरूले एक पटक अवसर दिनुहुनेछ भन्ने विश्वास छ । साथै माथिल्लो नेतृत्व गर्ने छलफलमा पटक–पटक मेरो सहभागिता भएकाले एड्भोकेसी गर्न सक्छु भन्ने मेरो बुझाइ छ ।

विजयी भएको खण्डमा समय व्यवस्थापन कसरी गर्नुहुन्छ ?
म केन्द्रमै कार्यरत रहेकाले समय व्यवस्थापनका लागि त्यति कठिन हुँदैन भन्ने मेरो बुझाइ छ । मैले अगाडि पनि भनेँ, महासचिवको रेसमा रहेका हामी दुवै सरकारी सेवामा छौं । एक जना लुम्बिनी प्रदेशको कर्मचारी हुनुहुन्छ भने म संघीय कर्मचारीअन्तर्गत पशु सेवा विभागमा कार्यरत छ । हुन त, राष्ट्रसेवक कर्मचारीले राज्यले खटाएको जुनसुकै बखत सेवा गर्नुपर्छ । संविधानमै यो कुरा लेखिएको छ । तर कुनै भवितव्य नपरेको खण्डमा कार्यालय समयको अगाडि, पछाडि धेरै काम गर्न सकिन्छ ।

जिम्मेवारीमा जान आकाङ्क्षा देखाउने तर पदमा पुगेपछि फोनसम्म नउठाउने गरेको आरोप सुन्ने गरिन्छ । यसबारे के भन्नुहुन्छ ?
मबाट कहिल्यै पनि त्यस्तो हुनेछैन । म सम्पूर्ण भेटेनरियनहरूलाई विश्वास दिलाउन चाहन्छु कि म एकदमै सरल, सिधा मान्छे हुँ । भेटेनरियनहरूको समस्या समाधान गर्न कल नै रिसिभ नगरेको उदाहरण मेरो छैन । अर्को विषय भनेको म पदकै लागि भनेर पटक पटक लडेको मान्छे होइन् । विगत तीन वटा निर्वाचनमा मैले सहयोगीको भूमिका निर्वाह गरेको छु । काठमाडौंमा रहेको र बाहिरबाट चलाउन अलि गाह्रो हुन्छ भन्ने मनस्थितिले यो पटक उम्मेदवारी दिने मनस्थिति बनाएको हुँ । तपाईंमार्फत म आममतदातालाई आफ्‌नो अमूल्य मत दिएर विजयी गराउन अनुरोध गर्न चाहन्छु । तपाईंको मतले विजयी भएको खण्डमा कहिल्यै पछुतो हुन दिनेछैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *