दाना उद्योग र भेटेरिनरी एशोसिएसन परिपूरक रूपमा अघि बढिरहेका छन्

नेपाल भेटेरिनरी एशोसियसन र नेपाल दाना उद्योग संघबीचको सम्बन्धलाई तपाईं कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
नेपाल भेटेरिनरी एशोसियसनसँगको हाम्रो सम्बन्ध निक्कै सुमधुर छ । क्वारेन्टाइन ऐन लागू भएपछि पशुजन्य वस्तुहरू, कुखुरा, दाना र अण्डाको ओसारपसार गर्नका लागि भेटेरिनरी प्रमाणपत्र अनिवार्य भएको छ, जुन डाक्टरहरूले जारी गर्नुहुन्छ ।
यसले हामी दाना उद्योगीहरूलाई ठुलो फाइदा पुगेको छ । प्रमाणपत्र प्रणालीका कारण अवैध ओसारपसारमा रोक लागेको छ । साँच्चै भन्नुपर्दा, भेटेरिनरी एशोसियसन र दाना उद्योग संघबीचको सम्बन्ध निकै गहिरो छ, र हामी परिपूरक रूपमा सहकार्य गर्दै अगाडि बढिरहेका छौं ।
नेपाल भेटेरिनरी एशोसियसन र दाना उद्योग संघबीच कस्ता सहकार्य भएका छन् ?
नेपाल–भारत खुला सीमाबाट भइरहेको अवैध पशुपन्छीजन्य वस्तुको आयात नियन्त्रण गर्न हामीले धेरै प्रयास गरेका छौं । तर ती प्रयासहरू पर्याप्त नहुन थालेपछि भेटेरिनरी एशोसियसनसँग सहकार्यमा चिकित्सकहरूमार्फत जारी गरिने प्रमाणपत्रलाई अझ पारदर्शी, परीक्षणयोग्य र विश्वासिलो बनाउनका लागि गम्भीर छलफलहरू भइरहेका छन् ।
अवैध वस्तुहरूमा नपरोस् र दुरुपयोग नहोस् भन्ने हेतुले प्रमाणपत्रको निष्पक्षता सुनिश्चित गर्न आवश्यक छ । यस्तो अवैध कारोबारले हाम्रो उद्योगलाई धरासायी बनाउन सक्छ, त्यसैले दीर्घकालीन सहकार्यका लागि दुवै संस्थाबीच गृहकार्य भइसकेको छ । सहकार्य विस्तार गर्न सहमति पनि भएको छ ।
नेपाल भेटेरिनरी एशोसियसनको आसन्न अधिवेशनप्रति तपाईंको धारणा के छ ?
यो अधिवेशनको पूर्ण सफलताको कामना गर्दछु । मेरो जानकारी अनुसार, नेतृत्वका लागि डा. उमेश दाहाल, डा. केदार सुवेदी र डा. केदारराज पाण्डे प्रतिस्पर्धामा हुनुहुन्छ । यी सबैजना अत्यन्तै अनुभवी र क्षमतावान भेटेरिनरीयनहरू हुनुहुन्छ ।
जो नेतृत्वमा आउनुहुन्छ, उहाँहरूसँग हामी सहकार्य गर्न तत्पर छौं । दाना उद्योग र भेटेरिनरी क्षेत्रबीचको सहकार्यले सम्पूर्ण पशुपालन क्षेत्रलाई मजबुत बनाउन सहयोग पुग्नेछ ।
अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वसँग तपाईंको मुख्य अपेक्षा के रहनेछ?
हाम्रो मुख्य अपेक्षा भनेको अवैध आयात नियन्त्रण गर्न सक्ने नीति तथा कार्यक्रम ल्याउने नेतृत्वको चयन हो । यस्तो नेतृत्वले दाना उद्योगसँग सहकार्य गर्दै व्यावसायिक सुरक्षालाई प्राथमिकता दिनुपर्छ ।
हामी साझा उद्देश्यसहित सहकार्य गर्न चाहन्छौं, र त्यस्तो सोच भएका नेतृत्वलाई साथ दिन तयार छौं ।