अधिवेशनमा वन हेल्थको मुद्दा उठे हुन्थ्यो

नेपाल भेटेरिनरी एशोसिएसन (एनभिए) ले लामो समयदेखि पशुपन्छी चिकित्सकहरूको हकहितको मुद्दा उठाउँदै आइरहेको छ । पशुपन्छी चिकित्सकको छाता संगठनका रूपका क्रियाशील एनिभएले यही जेठ १७ गते एकसाथ आफ्नो वार्षिक साधारणसभा तथा अधिवेशन गर्दैछ । एनभिएले अधिवेशनका क्रममा उठाउने मुद्दा र नयाँ नेतृत्वलाई लिएर अहिलेदेखि नै पशुपन्छी क्षेत्रमा बहस सुरु भएको छ । यसै सन्दर्भमा हामीले नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा)नेपालका अध्यक्ष जनकबहादुर रावल संग सम्पर्क गरेर एनभिएले अधिवेशनमा कस्ता मुद्दा उठाउनु पर्ला र यसको आगामी नेतृत्वसँग तपाईंहरूको अपेक्षा के छ भनेर सोधेका छौं ।हेरौ रावलको भनाई यस्तो छ :
सर्वप्रथम नेपाल भेटेरिनरी एशोसिएसनले यही जेठ १७ गते गर्न गइरहेको राष्ट्रिय अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दछु । यो अधिवेशनले विशेषगरी नेपाली पशुपालक किसान र भेटेरिनरी क्षेत्रलाई व्यवस्थित गर्ने खालका नीति कार्यक्रम गर्न चयन गर्न सकोस् भन्ने शुभेच्छा प्रकट गर्न चाहन्छु ।
पछिल्लो समय नेपालमा विभिन्न किसिमका रोगहरू नयाँ–नयाँ किसिमले फैलिरहेका छन् । त्यसको पूर्ण तयारीका विषयमा र किसानले प्राप्त गर्ने औषधिहरूको आपूर्तिमा पनि समस्या छ भन्ने कुरा आइरहेको छ । यी विषयमा पनि केन्द्रित रहेर एनभिएले आफ्नो नीति तथा कार्यक्रम पारित गर्न सकोस् भन्ने शुभेच्छा म तपाईंमार्फत व्यक्त गर्न चाहन्छु ।
मलाई लाग्छ, एनभिएको यो राष्ट्रिय अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्छ होला । अधिवेशनले यो पेशालाई व्यवस्थित गर्न सक्ने खालको नेतृत्व र पेशामा आबद्ध सबै पेशाकर्मीको हितमा बोल्न सक्ने खालको नेतृत्व चयन गर्न सकोस्, मेरोतर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छु ।
एनभिए पशु स्वास्थ्य क्षेत्रका विशेषज्ञ आबद्ध रहने संस्था हो । यसले नेपालको भेटेरिनरी सेवालाई व्यवस्थित गर्ने उद्देश्य लिएको छ । यो पेशा मानव स्वास्थ्यसँग जोडिएको भए पनि जुन किसिमले मूल्यांकन हुनुपर्थ्यो, त्यो हुन सकेको छैन । नेपालको भेटेरिनरी क्षेत्र शुद्ध नभइकन मानव स्वास्थ्य राम्रो हुनसक्ने सम्भावना छैन । कैयन् रोग पशु र पशुजन्य वस्तुबाट मानिसमा सरेको इतिहास छ । यो मानव स्वास्थ्यका लागि महत्त्वपूर्ण क्षेत्र हो । यो क्षेत्रबाट मानव स्वास्थ्यलाई ध्यान दिने किसिमले नीति तथा कार्यक्रम ल्याउन जरुरी छ ।
एनभिए र नेल्टाबीच नङ र मासुको जस्तै सम्बन्ध छ । यी एक अर्का बिना पूर्ण हुन सक्दैनन् । आफ्नो योग्यता, क्षमता अनुसार काम गर्न पाउने कुरा स्पष्ट हुनुपर्छ । एउटा संगठनको अध्यक्षको हिसाबले हेर्दा कतै न कतै हाम्रा बीचमा अथवा विषयविज्ञका बीचमा पनि अलिकति असझदारी, बुझाइको कमी छ जस्तो लाग्छ । स्वास्थ्य क्षेत्रमा हेर्यौं भने डाक्टर र नर्सबीच, डाक्टर र पारामेडिक्सबीच, डाक्टर र जनस्वास्थ्यकर्मीबीच सुमधुर सम्बन्ध छ । त्यही किसिमको सम्बन्ध पशुपन्छी क्षेत्रमा पनि कायम गर्नुपर्छ भन्नेमा म स्पष्ट छु ।
पशुपन्छी क्षेत्रको विकासका लागि दुवै संगठनको अहं भूमिका रहन्छ । यी दुई संगठनबीच सहकार्य पनि हुने गरेको छ । कुनै स्थानमा हामीले किसानका निम्ति पशु स्वास्थ्य शिविर गर्यौं भने विषयविज्ञलाई संस्थागत रूपमा आमन्त्रण गरेर किसानको घरदैलोमा सँगै पुगेर सेवा दिने गरेका छौं । आगामी दिनमा यो पेशालाई व्यवस्थित गर्ने सन्दर्भमा र किसानलाई प्रभावकारी सेवा प्रवाह गर्ने सम्बन्धमा हामी आपसी सहयोग आदानप्रदान गरेर अघि बढ्नेछौं । यसमा कुनै समस्या छैन ।
नेपालको पशुपालन व्यवसायको व्यावसायीकरण जरुरी छ । पशुपालन क्षेत्र भएन भने हाम्रो पेशा पनि रहँदैन । के गर्दा किसानको हित प्रवद्र्धन हुन्छ भन्ने विषयमा केन्द्रित रहेर अधिवेशनले नीति तथा कार्यक्रम पास गर्न उपयुक्त हुन्छ । दोस्रो कुरा, पशु स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्ने कुरा र पशु स्वास्थ्य क्षेत्रबाट मानवलाई स्वस्थ राख्ने कुरा पनि अधिवेशनबाट आउनुपर्छ जस्तो लाग्छ ।