एआईको प्रयोगबारे चर्चा होस्

नेपाल भेटेरिनरी एशोसिएसन (एनभिए) ले लामो समयदेखि पशुपन्छी चिकित्सकहरूको हकहितको मुद्दा उठाउँदै आइरहेको छ । पशुपन्छी चिकित्सकको छाता संगठनका रूपका क्रियाशील एनिभएले यही जेठ १७ गते एकसाथ आफ्नो वार्षिक साधारणसभा तथा अधिवेशन गर्दैछ । एनभिएले अधिवेशनका क्रममा उठाउने मुद्दा र नयाँ नेतृत्वलाई लिएर अहिलेदेखि नै पशुपन्छी क्षेत्रमा बहस सुरु भएको छ । यसै सन्दर्भमा हामीले नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष लक्ष्मीदास मानन्धर संग सम्पर्क गरेर एनभिएले अधिवेशनमा कस्ता मुद्दा उठाउनु पर्ला र यसको आगामी नेतृत्वसँग तपाईंहरूको अपेक्षा के छ भनेर सोधेका छौं ।हेरौ मानन्धरको भनाई यस्तो छ :
नेपाल भेटेरिनरी एशोसिएसन (एनभिए) को यही जेठ १७ गतेबाट हुन गइरहेको अधिवेशनको पूर्ण सफलताको कामना गर्न चाहन्छु ।
समग्र पोल्ट्री व्यवसायसँग सम्बन्धित संघ–संगठन र एनभिएबीच परिपूरक सम्बन्ध छ । पशु चिकित्सकहरूले हासिल गरेको ज्ञान, सीप, दक्षताको प्रयोगबिना पोल्ट्री पक्कै पनि अगाडि जान सक्दैन । किनभने, हामीले श्वास भएको चिजको व्यवसाय गर्छौं । तिनलाई विभिन्न किसिमका रोगव्याधिहरू लागिरहेका हुन्छन् । रोगहरू पनि नयाँ–नयाँ आइरहेका छन् । त्यस्ता रोगबाट मुक्त गर्न औषधि पनि नयाँ प्रयोग गर्नुपर्ने हुन्छ । यी कुरामा हामीले पशु चिकित्सकको पनि दरिलो साथ आवश्यक पर्छ ।
अहिले पोल्ट्री क्षेत्र निकै अप्ठ्यारो स्थितिमा छ । उपलब्ध स्रोतको भरपूर सदुपयोग गरी निरोगी चल्ला र कुखुरा उत्पादन गर्नुपर्ने छ । कुखुराको स्वस्थकर मासु उत्पादन गर्न हामीले एनभिएबाट साथ सहयोगको अपेक्षा राखेका छौं ।
समय धेरै परिवर्तन भइसकेको छ । आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) का कुरा आइसके । एआईले हाम्रा पढेलेखेका कृषक, उद्यमी, व्यवसायीलाई निकै सहयोग गरेको अवस्था छ । एनभिएले आफ्नो ठाउँबाट पहलकदमी उठाएर सरल भाषामा एआईको सदुपयोगबारे बुझाइदिने हो भने किसान तथा व्यवसायी अझै लाभान्वित हुनसक्थे । त्यसैले मेरो विचारमा पशुपन्छी क्षेत्रको विकासमा एआई कसरी सहयोगीसिद्ध बन्न सक्छ भन्ने विषय एनभिए महाधिवेशनको एजेण्डा बनाउनु उपयुक्त हुन्छ ।
सबै कुरा परिवर्तनशील छन् । मार्क्सवाद पनि अब मार्क्सको बेलाको जस्तो रहेन । यो पनि परिवर्तनशील हुँदै गइरहेको छ । त्यसैले एनभिएको अब आउने नेतृत्व पुराना कुरा समेटेर नयाँ कुरालाई परिस्कृत गर्दै लैजान सक्ने किसिमको आउनु पर्छ । विश्वमा भएका नयाँ कुरा हामीमाझ पस्कने क्षमता पनि अबको नयाँ नेतृत्वमा हुनुपर्छ ।
कुनै पनि कुरा विकास गर्न सबैभन्दा पहिले नीति आवश्यक हुन्छ । त्यो नीतिबारे आवाज उठाउन सक्ने नेतृत्व चयन भइदियो भने त्यो सुनमा सुगन्ध हुनेछ ।