एक्सन लिएपछि रियाक्सन स्वाभाविक:यी कुरा एनभिए अधिवेशनको मुद्दा बनोस्

नेपाल भेटेरिनरी एशोसिएसन (एनभिए) ले लामो समयदेखि पशुपन्छी चिकित्सकहरूको हकहितको मुद्दा उठाउँदै आइरहेको छ । पशुपन्छी चिकित्सकको छाता संगठनका रूपका क्रियाशील एनिभएले यही जेठ १७ गते एकसाथ आफ्‌नो वार्षिक साधारणसभा तथा अधिवेशन गर्दैछ । एनभिएले अधिवेशनका क्रममा उठाउने मुद्दा र नयाँ नेतृत्वलाई लिएर अहिलेदेखि नै पशुपन्छी क्षेत्रमा बहस सुरु भएको छ । यसै सन्दर्भमा हामीले नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसियसन(नेभ्ला)का अध्यक्ष रामप्रसाद मेहतासंग सम्पर्क गरेर एनभिएले अधिवेशनमा कस्ता मुद्दा उठाउनु पर्ला र यसको आगामी नेतृत्वसँग तपाईंहरूको अपेक्षा के छ भनेर सोधेका छौं ।हेरौ मेहताको भनाई यस्तो छ :

नेपाल भेटेरिनरी एशोसिएसन (एनभिए) को यही जेठ १७ गते अधिवेशन हुन गइरहेको छ । सबैभन्दा पहिले म यो संगठनको अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दछु ।
पशु स्वास्थ्यको क्षेत्रमा अब्बल र यो क्षेत्रलाई नेतृत्व गर्ने खालको जनशक्ति एनभिएमा जोडिनुभएको छ । उहाँहरूले देशको पशु स्वास्थ्य क्षेत्रलाई व्यवस्थित, सुरक्षित गर्नुपर्छ । अझ भन्ने हो भने किसानहरूलाई विस्तृत सेवा प्रदान गर्ने अवस्था सिर्जना गर्नुपर्छ । त्यसमा उहाँहरू लागिरहनुभएको छ ।


पछिल्लो चरणमा यो क्षेत्रमा भेटेनरियनहरू र पाराभेटेनरियनहरूले काम गरिरहेका छन् । पशु चिकित्सकले अब विशिष्टीकृत काम गर्नुपर्छ । पाराभेटेनरियनहरूले पनि योग्यताको आधारमा तोकिएको काम गर्नुपर्छ । परिषद्हरूले त्यसको व्यवस्था पनि गर्दै गइरहेको छ । यसमा सबै पक्ष एकजुट भएर आफ्‌नो कार्य जिम्मेवारीभित्र बसेर पशु विकासको क्षेत्रलाई व्यवस्थित र सुरक्षित गर्नुपर्छ । यसलाई इज्जतको पेशामा रूपान्तरण गर्न एनभिएको अधिवेशनबाट ठोस धारणा आओस् भन्ने मेरो चाहना छ ।


एनभिएले अहिले विशिष्टीकृत रूपमा यो क्षेत्रलाई ड्राइभ गरिरहेको छ । मेरो आग्रह छ, एनभिए अझै फराकिलो मन, फराकिलो सोच र दायरा बनाएर अगाडि बढोस् ।
कुनै पनि जीवित संस्थाले आफ्‌नो गतिविधि अगाडि बढाउँदा रियाक्सन हुन्छ । त्यसो त, कसैले एक्सन लिँदा रियाक्सन आउँदैन भने त्यसको मजा पनि हुँदैन । त्यसकारण हामीले काम गरिरहँदा उहाँहरूले रियाक्सन देखाउनुभएको थियो । त्यसलाई हामी नकारात्मक रूपमा लिएनौं । बरु यसले हामीलाई ऊर्जा थप्ने काम नै गरेको छ ।


पशु चिकित्सा परिषद्ले पशु चिकित्सकलाई दर्ता तथा नियमन गरिरहँदा बाँकी हामी जनशक्तिलाई पनि अर्को परिषद्ले दर्ता हुने खालको अवस्था बनाइदिनुपर्छ भनेर पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् स्थापना भइसकेको छ । त्यसले अहिले दर्ता प्रक्रियालगायतका अन्य काम अघि बढाइसकेको छ । काम गर्ने सिलसिलामा दुई संगठनबीच द्वन्द्व नहुने होइन । मैले भनिहालेँ, एक्सन लिएपछि रियाक्सन स्वाभाविक हो । त्यसलाई व्यवस्थापन गर्दै अघि बढ्नु पर्छ ।
पशु चिकित्सकहरू कानूनी रूपमा व्यवस्थित भइसक्नुभएको छ भने हामी पनि हुँदैछौं । अब दुइटैले छलफलमार्फत आपसी द्वन्द्वलाई न्यूनीकरण गरेर यो क्षेत्रलाई सबल ढंगले अघि बढाउनु पर्छ ।
यहाँले उठाउनुभएको दुई संगठनको सम्बन्ध कस्तो छ भन्ने सवाल निकै महत्वपूर्ण छ । साझा मुद्दामा हामी एनभिएसँग मिलेर अघि जान चाहन्छौं । अपेक्षा पनि त्यही गर्छौं । केही विषय भने फरक हुनसक्छन् । त्यसमा अधिकतम समझदारी गरेर एकअर्कालाई ओभरट्याक नहुने गरी अघि बढ्नुपर्छ । अहिले एनभिए र नेभ्लाबीचको सम्बन्ध मैले निकै सकारात्मक पाएको छु । एकले अर्कालाई स्वीकार गरेर अघि बढियो भने यो क्षेत्रलाई व्यवस्थित गर्न र किसानलाई पनि प्रभावकारी सेवा दिन सकिन्छ ।


देशका कतिपय स्थानमा अहिले पशु चिकित्सकको उपस्थिति नै छैन । तर पशु प्राविधिकहरू देशका विभिन्न भागमा रहेर प्रमुख रूपमा सेवा प्रवाह गरिरहनुभएको छ । हामीसँग जोडिएका जनशक्तिले काम गरिरहँदा कानूनले पहिचान दिनुपर्छ, अधिकार दिनुपर्छ, दर्ता, नियमन गर्नुपर्छ भनेर अघि बढ्यौं । त्यसक्रममा उहाँहरूभित्र भेटेरिनरी डाक्टरले गर्ने काम कतै पशु प्राविधिकले गरिदिन्छन् कि भन्ने चिन्ता पलाएको हुनसक्छ । नेृतत्व परिवर्तन हुँदा फरक मान्छे आउँछ र बुझाइ पनि फरक हुन्छ । हामीतिर पनि काम गर्दा एउटाको एउटा र अर्कोको अर्को बुझाइ रहन गएको थियो । यसले आन्तरिक द्वन्द्व पनि सिर्जना गर्‍यो । दुवै पक्षबाट योबीचमा सडक तताउने काम भए । पहिले हामीबीच असमझदारी देखिए पनि त्यो विस्तारै व्यवस्थापन हुँदै गइरहेको छ । दुई संगठनबीच हार्दिकता बढाएर यो क्षेत्रलाई सबल रूपमा अगाडि बढाउनु पर्छ । मलाई लाग्छ, यसमा उहाँहरू पनि सहमत हुनुहुन्छ होला ।


दुई संगठनबीच पेशागत अधिकारका विषयमा केही द्वन्द्व देखिएका भए पनि जनतासमक्ष प्रभावकारी सेवा पुर्‍याउने विषयमा राज्यलाई दबाब दिन हामी सँगसँगै उभिँदै आएका छौं । पशुपन्छीका रोग फैलिएका बेला, कृषकको भुक्तानी विलम्ब भएका बेला मात्र होइन, किसानसँग जोडिएका अन्य विषयमा राज्य उदासीन बनेको स्थितिमा पनि हाम्रो संगठन, एनभिए, नासालगायतले संयुक्त रूपमा दबाब दिएको थियो । मिल्ने कुरामा मिलेर जानुपर्छ । नमिल्ने कुरामा अधिकतम समझदारी बनाएर अघि बढ्नु समग्र पशुपन्छी क्षेत्रको हितमा हुनेछ ।


अधिवेशन/महाधिवेशनहरूले म्याण्डेट दिने, मागदर्शन गर्ने काम गर्छ । त्यसैले दुई/चार कुरालाई एनभिएले गम्भीर रूपमा अगाडि बढाउनु पर्छ ।
पछिल्लो समय पशुपालन क्षेत्रमा रोगव्याधि, बजार, भुक्तानीलगायत समस्या देखिएको छ । कुखुरापालन, बंगुरपालनमा विभिन्न रोगको प्रकोप देखिएको छ भने दूध उत्पादन क्षेत्रमा भुक्तानी समस्या छ । यस्तो स्थितिमा पशुपन्छी सेवामा समर्पित किसान, उद्यमी, व्यवसायीलाई जगाउन राज्यले भूमिका खेल्नुपर्छ । तर त्यसो हुन सकिरहेको छैन । राज्यले गर्नुपर्ने कामको ठोस लिस्ट बनाएर यो टेक्निकल काम गर्न हामी तयार छौं भनेर ठोस प्रतिबद्धताका साथ जेठ १७ मा हुन गइरहेको अधिवेशनले राज्यलाई दबाब सिर्जना गर्ने काम गर्नुपर्छ ।


अहिले संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार छन् । यीमध्ये स्थानीय तह किसानसँग सबैभन्दा नजिक छ । प्रत्येक वडामा विशेषज्ञ सेवासहितको प्राविधिक जनशक्ति व्यवस्थापन गर्ने र आवश्यक परेका बेला प्राविधिक जनशक्ति परिचालन हुने अवस्था बनाउनु पर्छ । त्यस किसिमको जनशक्ति व्यवस्थापन र परिचालनमा एउटा दरिलो निर्णय गरेर एनभिए अगाडि आओस् ।


हाम्रो देशबाट कृषिजन्य वस्तुको निर्यात निकै कम छ । आयातचाहिँ ज्यादा छ । अहिले पनि साढे तीन खर्बभन्दा बढी आयात गरेर उपभोग हुने गरेको छ । उत्पादन बढाएर त्यसलाई कसरी प्रतिस्थापना गर्ने र उत्पादित वस्तुहरूको बजार व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्न निकै महत्वपूर्ण छ । उत्पादित वस्तुको बजार सरकारले ग्यारेन्टी दिनुपर्छ भनेर हामीले भन्दै आइरहेका छौं । यही देशभित्र कृषि र पशुपालन गरेर आफ्‌नो भविष्य देख्ने र खोज्ने खालको जनशक्ति वैदेशिक रोजगारीमा गइरहेको छ । तिनले देशभित्रै बसेर काम गर्ने वातावरण बनाउनका लागि तीन तहको सरकारले कस्तो भूमिका खेल्नुपर्छ, कस्तो नीति तथा कार्यक्रम ल्याउनु पर्छ भनेर अधिवेशनमा छलफल गरियो भने पशुपन्छी क्षेत्रका संगठन हातेमालो गरेर अघि बढ्ने अवस्था बन्ने छ ।


हामीसँग विश्व पशु स्वास्थ्य संगठन छ । यसलाई छोटकरीमा पहिले ओआइई भनिन्थ्यो भने अहिले डब्लुओएएच भनिन्छ । उहाँहरू र हामीबीच यसमा प्रतिनिधित्व गर्ने विषय पनि छ । एउटा पेचिलो कुरामा उहाँहरू र हामीबीच छलफल गर्नुपर्ने छ । कमन स्ट्याण्डर्ड डिजाइन गर्ने विश्व पशु स्वास्थ्य संगठनमा पशु चिकित्सा परिषद्मा दर्ता भएको पशु चिकित्सकले प्रतिनिधित्व गर्दै आइरहनुभएको छ । कानूनले दुई वटा पशु चिकित्सा परिषद् र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् खडा गरेकाले अब त्यसमा पालैपालो प्रतिनिधित्व हुने अवस्था बनाइनु पर्छ । त्यसो गरिएमा अन्तर्राष्ट्रिय समुदायले हामीलाई बुझ्‌ने त छ नै स्वीकारसमेत गर्ने छ । अर्को फाइदाको कुरा यसबाट सम्बन्ध पनि विकास हुनेछ । अन्तर्राष्ट्रिय प्लेटफर्ममा छलफल गर्नुपर्ने उहाँहरूले उठाउने गर्नुभएको विषयहरू र किसानसँग जोडिएका, हामीले उठाएका विषयहरू राष्ट्रियकरण गर्न सहयोग पुग्ने भएकाले यसमा मिलेर जानु पर्छ भन्ने मेरो धारणा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *