महासचिवमा रहेर खेलेको भूमिका, अनुभव र ऊर्जा मेरो जितको आधार

नेपाल भेटेरिनरी एशोसिएसनको महासचिवको भूमिकामा रहेका डा. केदार सुवेदी यस पटक अध्यक्षको प्रत्यासीका रूपमा मैदानमा उत्रिएका छन् । पशुपन्छी चिकित्सकको हकहितका लागि महासचिवमा रहेर प्रभावशाली भूमिका खेलेकाले भेटेरिनरियनहरूले आफूलाई अवसर दिने उनको विश्वास छ । एनभिए कार्यसमितिमा रहेर काम गरेको अनुभव र ऊर्जासमेत आफ्‌नो प्लस प्वाइन्ट भएको उनको बुझाइ छ ।अध्यक्षमा निर्वाचित भएको खण्डमा पेशागत उन्नयनलगायत कार्य गर्ने बताउने डा. सुवेदीसँग उनको उम्मेदवारी, निर्वाचनको एजेण्डा, महासचिवको कार्यकालमा रहेर गरेका काम लगायत विषयमा केन्द्रित रहेर भेट टाइम्स मासिकले गरेको सवाल :

नेपाल भेटेरिनरी एशोसिएसनको अध्यक्षमा यहाँको उम्मेदवारी किन ?
२०८२ साल जेठ १७ गते सम्पन्न हुनगइरहेको नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) को अधिवेशनमा मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको छु । तपाईंहरूलाई थाहै छ, पछिल्लो २ वर्ष मैले एनभिएको महत्वपूर्ण गरिमामय महासचिव पदमा रहेर कार्यसम्पन्न गर्ने प्रयास गरेँ । एनभिएमा गर्नुपर्ने काम धेरै थिए । यसमध्ये धेरै कुरा गर्न सकियो होला । केही कुरा गर्न सकिएन होला ।दुई वर्ष महासचिवको पदमा रहँदै गर्दा धेरै कुरा जान्ने अवसर मिल्यो । कहाँ–कहाँ राम्रो काम गर्न सक्यौं, कहाँ–कहाँ कमजोरी रहे ? यी सबै कुराको जानकारी मलाई छ । त्यसकारण राम्रा कामलाई निरन्तरता दिँदै, कमजोरीहरूलाई सुधार्दै समग्र पेशागत हक र अधिकारको संरक्षण निम्ति अध्यक्षको प्रत्यासी बनेको जानकारी गराउन चाहन्छु ।

संगठनको सर्वोच्च पदमा उम्मेदवारी दिनुभएको छ । यहाँका मुख्य–मुख्य एजेण्डाहरू के–के छन् ?
सबैभन्दा पहिलो कुरा, भेटेरिनरी चिकित्सक हुँ भनेर समाजमा गर्व गर्ने वातावरण बनाउने उद्देश्य छ । त्यसका लागि भेटेरिनरियनको पेशागत हक र अधिकार संरक्षणका लागि काम गर्नेछु । हामीसँग सम्बन्धित विभिन्न मुद्दा अदालतमा विचाराधीन छन् । सरकारी सेवा प्रवेशबिन्दु आठौं तह हुनुपर्ने विषय किनारा लागेको छैन । विभिन्न कानून बन्नुपर्नेमा त्यसले पनि आकार लिन सकेको छैन । विचाराधीन मुद्दारूको समाधान र भेटेरिनरियनहरूको अन्तर्राष्ट्रिय अधिकार सुनिश्चित गर्नका लागि मेरोतर्फबाट पहल हुनेछ ।

एनभिएको महासचिव पदमा दुई वर्ष काम गरेँ । यो जिम्मेवारीबाट धेरै अनुभवहरू हासिल गरेको छु । त्यस्तै, मसँग ऊर्जा पनि छ । काम गर्नुपर्छ भन्ने हुटहुटी छ । अग्रज, युवा र नयाँ आउनुभएका अनुज भेटेरिनरियनहरूसँग समन्वय गरेर यो क्षेत्रमा देखिएका समस्या समाधान गर्दै पेशागत हकहितका लागि अगाडि बढेको जानकारी गराउन चाहन्छु ।

हाम्रो देशको भूगोल विविधतायुक्त छ । कति ठाउँ सुगम छन् भने कति दुर्गम । कतिपय ठाउँमा भेटेरिनरियनले सेवा प्रवाह गरिरहनुभएको छ भने कति ठाउँमा सक्नुभएको छैन । आगामी कार्यकालका लागि म अध्यक्ष भएँ भने देशव्यापी समावेशी कार्यक्रमहरू बनाएर सबै भेटेरिनरियनहरूलाई समेटेर सुगम, दुर्गम सबै ठाउँमा तालिम विस्तार गर्ने योजना रहेको छ । त्यसैगरी, भेटेरिनरी शिक्षालाई गुणस्तरीय बनाउन, सेवा सुविधा वृद्धि गर्न पहल गर्ने सोच पनि छ । कतिपय स्थानमा थोरै तलबमा पशु चिकित्सकहरू काम गरिरहनुभएको छ । उहाँहरूले उचित पारिश्रमिक प्राप्त गर्ने अवस्था सिर्जना गर्नेतर्फ पनि मेरो ध्यान जानेछ । भेटेरिनरी काउन्सिल र भेटेरिनरीसँग जोडिएंंंका सरकारी, गैरसरकारी संघ–संस्थासँग समन्वय गर्दै भेटेरिनरी डाक्टरका लागि काम गर्ने लक्ष्य पनि छ ।

भेटेरिनरीसँग सम्बन्धित नीति निर्माण, पशु स्वास्थ्य सेवा, पशुपन्छी तथा मत्स्यसँग जोडिएका नीति निर्माण कार्य गर्दा भेटेरिनरी एसोसिएसनले पनि सक्रिय भूमिका पाउनुपर्छ । त्यसका लागि मेरो निरन्तर प्रयास रहनेछ ।
एनभिएको भवन निर्माण लगभग ६५ प्रतिशत मात्र सकिएको छ । आर्थिक पारदर्शितासहित यसै कार्यकालमा भवन निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको जानकारी गराउन चाहन्छु ।

भेटेरिनरी चिकित्सकको मात्र नभएर पशु प्राविधिक, व्यवसायीको नेभ्ला, नेल्टा, नासा, औषधि व्यवसायी, दाना उद्योग संघलगायत धेरै सक्रिय संगठन छन् । यी संगठनसँग हार्दिकतापूर्वक हातेमालो गरेर भेटेरिनरी क्षेत्रको विकासका लागि सँगै जाने योजना बनाएको छु । समग्रमा नेपाली भेटेरिनरी डाक्टरहरूको उन्नयन र पेशागत हक–अधिकारको रक्षासँगै आफ्‌नो पेशाप्रति गर्व गर्ने वातावरण बनाउन सधैं लागिपर्ने जानकारी गराउँछु ।

चुनावी परिणाम आफ्‌नो पक्षमा पर्नेमा कतिको आशावादी हुनुहुन्छ ?

अगाडि नै मैले भनिसकेँ कि एनभिएमा मैले २ वर्ष महासचिवका रूपमा काम गरेँ । यसबाट मैले धेरै कुरा अनुभव गरेको छु । देशभरका मतदाताले दिनुभएको मतको सम्मान गर्दै डटेर एनभिए सुधारका लागि, पशु चिकित्सकको हकहितका लागि, विभिन्न कार्यक्रमका लागि खटिएँ । यो कुरा भेटेरिनरियनले नजिकबाट देख्नुभएको पनि छ ।

महासचिवको भूमिकालाई न्याय गरेर, खरो ढंगले काम गरेको कुरालाई देशैभरका सम्पूर्ण भेटेरिनरियनहरूले मूल्यांकन गर्नुभएको छ भन्ने मेरो विश्वास छ । यही विश्वासका आधारमा सम्पूर्णले मलाई मन र मत दिनुहुनेछ भन्ने ठानेको छु । उहाँहरूले दिएको मतको सम्मान गरेर आफ्‌नो दायित्व पूरा गर्नेछु भन्ने प्रतिबद्धता पनि म तपाईंमार्फत व्यक्त गर्न चाहन्छु ।

पशुपन्छी क्षेत्रको विकासका लागि पशु चिकित्सक र पशु प्राविधिक दुवैको भूमिका रहन्छ । तर पशु प्राविधिकसँग तपाईंहरूको हार्दिकतापूर्ण सम्बन्ध छैन । यो मतान्तर हल गर्न के योजना बनाउनुभएको छ ?

मैले अगाडि पनि भनिसकेँ कि यदि म आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएँ भने एउटा उद्देश्य अन्तर पेशागत संगठनहरूबीचको समन्वयलाई बढाएर लैजाने हुनेछ । पशु चिकित्सक र प्राविधिक दुवै एउटै क्षेत्रमा काम गर्छौं । यो क्षेत्रसँग सम्बन्ध रहेका सम्पूर्ण नङ र मासुको जस्तो सम्बन्ध बनाएर अगाडि बढ्नु पर्छ । केही द्वन्द्व होलान् । त्यसमा उहाँहरूलाई बुझाउने प्रयास हुनेछ । हामी आगामी दिनमा एकढिक्का भएर अगाडि बढ्नेछौं ।

पेशागत संगठन हो एनभिए । सहमति र सहकार्यलाई पछ्याएर नेतृत्व चयन गर्न किन नसकेको छ ?

एनभिएको इतिहास हेर्ने हो भने धेरै पटक निर्वाचनद्वारा नेतृत्व चयन गरिएको छ । अहिले नै पनि हाम्रो उपाध्यक्ष, सचिव, प्रधान सम्पादक जस्ता मुख्य पद सर्वसम्मत भइसकेको छ । अध्यक्षमा पनि तीन जनाको मात्र उम्मेदवारी रहेको छ । सदस्यमा पनि धेरै आकांक्षी देखिनुभएको छैन । ६ सदस्यका लागि १२ जनाको उम्मेदवारी परेको छ । अन्य पदमा पनि एक–दुई जना छ । नेतृत्व लिएर काम गर्ने चाहना धेरैको हुन्छ । त्यसलाई नकार्न मिल्दैन । निर्वाचनको सुनौलो पक्ष निर्वाचन भएकाले यसलाई पन्छाउन मिल्दैन ।

तपाईं दुई वर्ष एनभिए महासचिवको जिम्मेवारीमा रहनुभयो । आफूले आफ्‌नो कार्यकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

दुई वर्ष महासचिवको भूमिकामा रहँदा बलियो र प्रभावकारी एनभिए बनाउनका लागि प्रयासरत रहेँ । भेटेरिनरी चिकित्सकलाई असर पर्ने मुद्दामा नेपाल सरकारबाट नजर अन्दाज गरिँदा अग्रपंक्तिमा रहेर खबरदारी गरिरहेँ । मेरो क्षमताले भ्याएसम्म प्रशस्त समय दिएर काम गरेको कुरा पनि अवगत गराउन चाहन्छु । देशका सातै प्रदेशमा गएर त्यहाँका भेटेरियनले झेलेका समस्याबारे छलफल पनि गर्‍यौं ।

पशुपन्छी क्षेत्रमा शून्य बजेट राखिएको, कार्यालय खारेज गरिएको अवस्थामा सरोकारवालालाई एकजुट गराएर एनभिएको नेतृत्वमा संघर्ष गरियो । अग्रज र अनुजसँग राय/सुझाव लिने कुरामा पनि कुनै कसर बाँकी राखेँ भन्ने लाग्दैन । पशु चिकित्सकका लागि अति आवश्यक तालिमहरू सञ्चालन गरियो । अघिल्लो कार्यसमितिले शिलान्यास गरेको भवन लगभग लगभग ६५ प्रतिशत सम्पन्न गरेका छौं । समग्रमा बलियो र प्रभावकारी एसोसिएसन बनाउनका लागि र भेटेरिनरियन डाक्टरको हकहितको लागि लागिपरेँ ।

संघीय निजामती विधेयकमा दुई माननीयमार्फत मेरै अग्रसरतामा संशोधन प्रस्ताव दर्ता गराउन लगाइएको पनि म तपाईंमार्फत सम्पूर्ण भेटेरिनरियनहरूलाई अवगत गराउन चाहन्छु । हिजो आठौं तहमा पशु चिकित्सकलाई इन्ट्री गराउन हुँदैन भन्ने मत थियो । तर अहिले पशु चिकित्सक पनि योग्य छन् भन्ने बुझाइ निर्माण भएको छ । उहाँहरूलाई यसरी बुझाउन सक्नु पनि हाम्रो सफलता हो ।

तथापि, केही काम भने चाहेर पनि गर्न सकिएन । भेटेरिनरी चिकित्सकलाई जति सक्दो बढी तालिम दिनुपर्नेछ । यो काम अझै धेरै सञ्चालन गर्न सकिएको भए हुन्थ्यो भन्ने लाग्छ । अर्को भवन अहिलेसम्म निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । तर विविध कारणले हुन सकेन । आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएँ भने साम, दाम, दण्ड, भेद सबै लगाएर उक्त भवनको निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

अन्तिममा के भन्नुहुन्छ ?

पशुपन्छी, मत्स्य क्षेत्रसँग जोडिएका सबै संस्था एउटै डुंगामा छौं । एउटालाई असर पर्दा अर्को टुलुटुलु हेरेर बस्न मिल्दैन । एउटा पक्ष तल र अर्को माथि हुनै सक्दैन । यो क्षेत्रका विकास र उन्नयनका लागि हामी सबै एक भएर अगाडि बढ्नु पर्छ । म निर्वाचित भएँ भने यसका लागि पहल हुनेछ भन्ने वचनबद्धता जनाउन चाहन्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *