अध्यक्ष भएँ भने यी ११ काम गर्न पहल गर्छु,

सहमतिको अवस्था बनेन, विजयी भएँ भने काठमाडौंमै बस्छु

नेपाल भेटेरिनरी एशोसिएसनको अध्यक्षमा यस पटक त्रिपक्षीय भिडन्त हुने भएको छ। अध्यक्षका प्रत्यासीका रूपमा डा. केदारराज पाण्डे मैदानमा उत्रिएका छन्।
नेपाल भेटेरिनरी एसोसिएसन, गण्डकी प्रदेशको दुई कार्यकाल अध्यक्ष भइसकेका डा. पाण्डे आफू अध्यक्षमा विजयी भए पशुपन्छी चिकित्सा क्षेत्र र पशुचिकित्सकको हकहितमा समर्पित हुने बताउँछन्। मन, वचन र कर्मले पूर्णकालीन भएर पशुचिकित्सकको सेवामा लाग्ने प्रण गरेकाले आफूले भेटेरिनरियनबाट साथ पाउने उनको विश्वास छ।
अवकाशप्राप्त सिनियर भेटेरिनरियन डा. पाण्डेसँग उनको उम्मेदवारी, एजेण्डालगायत विषयमा भेट टाइम्स मासिकले गरेको सवालः

तपाईंको उम्मेदवारी कुन पदका लागि हो र किन ?
मेरो उम्मेदवारी अध्यक्ष पदका लागि हो। हालसालै ग्राजुएशन गरेका नयाँ भेटेरिनरियनदेखि दशकौंसम्म सेवामा समर्पित भइसकेका भेटेरिनरियनहरूलाई एकताबद्ध गर्दै भेटेरिनरी पेशाको सशक्तीकरणमार्फत पेशालाई थप मर्यादित बनाउँदै भेटेरिनरियनहरूको हकहित सुनिश्चित गर्नका लागि मैले आफ्नो उम्मेदवारी प्रस्तुत गरेको हुँ।

यहाँले उम्मेदवारी दिँदै गर्दा मुख्य एजेण्डाहरू के–के अगाडि सार्नुभएको छ ?
मुख्य रूपमा अग्रज भेटेरिनरियनको अनुभव र युवा भेटेरिनरियनको आवाज नै मेरा मुख्य एजेण्डा हुन्। बुँदागत रूपमा भन्नुपर्दा मेरा एजेण्डा देहायबमोजिम छन्ः

  1. एशोसिएसनको भवन निर्माण कार्य सम्पन्न गर्ने
  2. एशोसिएनका सम्पूर्ण कामकारबाहीहरूको पूर्ण डिजिटलाइजेसन् गर्ने
  3. नेपाल सरकारबाट हुने भेटेरिनरी क्षेत्रसँग सम्बन्धित नीति निर्माण प्रक्रियामा एशोसिएनको प्रभावकारी सहभागिता सुनिश्चित गर्ने
  4. भेटेरिनरी पेशासम्बन्धी नियम–कानूनहरूको पुनरावलोकन गरी समसामयिक बनाउन आवश्यक पहल गर्ने
  5. भेटेरिनरियनहरू सरकारी सेवामा प्रवेश गर्दा प्रवेशबिन्दु आठौं तह हुने सुनिश्चित गर्न संघीय तथा प्रादेशिक सरोकारवालहरूसँग आवश्यक समन्वय, अन्तरक्रिया तथा आवश्यकता अनुसार दबाबमूलक कार्यहरू गर्ने/गराउने
  6. हाल सहरी क्षेत्रमा सिमित भेटेरिनरी सेवा विस्तार गर्दै ग्रामीण पशुपालक कृषकहरूलाई प्रत्यक्ष लाभान्वित गराउन एक स्थानीय तह, एक भेटेरिनरी अस्पताल व्यवस्थाका लागि पहलकदमी लिने
  7. निजी क्षेत्रमा आबद्ध भेटेरिनरियनहरूको लागि न्यूनतम पारिश्रमिक निर्धारणसम्बन्धी मापदण्ड तर्जुमा गर्ने व्यवस्था मिलाउने
  8. भेटेरिनरीसम्बन्धी अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि यथेष्ट कार्यक्रम तर्जुमाका लागि पहल गर्ने
  9. भेटेरिनरी क्षेत्रका अन्तर्राष्ट्रिय संघ–संस्थाहरूसँग समन्वय र सहकार्य प्रवद्र्धन गर्ने
  10. हाल निष्क्रिय रहेको भेटेरिनरी वयलफेयर फण्डलाई क्रियशील बनाउनु
  11. भेटेरिनरी इमरजेन्सी फण्ड स्थापना गर्ने।

खासमा नेपालको पशु चिकित्सा क्षेत्रमा यहाँले के कस्ता समस्याहरू पाउनुभएको छ र यदि निर्वाचित हुनुभयो भने ती समस्या समाधानका लागि यहाँका योजनाहरू के हुनेछन् ?
नेपालको पशु चिकित्सा क्षेत्र क्रमशः सुधारोन्मुख नै भएता पनि वैश्विक परिवेशसँग तुलना गर्दा यो क्षेत्र अझै बामे सर्दै गरेको आभास हुन्छ। समस्याको चाङ्ग खोतल्नुभन्दा आ–आफ्नो तह तप्काबाट सुधारका लागि गरिने प्रयासहरू नै अमूल्य हुन्छन्। यस क्षेत्रमा निरन्तर शिक्षा, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धन गर्दै पशु चिकित्सकहरूको पेशागत हकहित सुनिश्चित र पशुपालन व्यवसायको उत्थान हुनेगरी रूपान्तरण गर्नु आजको आवश्यकता हो। समाधान गर्नुपर्ने समस्याहरू यावत रहेता पनि मैले मेरो चुनावी एजेण्डाका रूपमा प्रस्तुत गरेका विषयहरू र तिनको समाधानमा नै मेरो अर्जुनदृष्टि रहनेछ।

चुनावी परिणाम तपाईंको पक्षमा आउँछ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
यस अधिवेशनमा मेरा अग्रजहरूको आशीर्वाद, समकक्षीहरूको प्रेम र अनुज भेटेरिनरियनहरूको सद्‍भावले म विजयी हुनेछु भन्नेमा पूर्ण विश्वस्त छु।

तमाम भेटेरिनरियनले यस अधिवेशनमा तपाईंलाई नै मत किन दिने ?
निर्वाचित भएपश्चात नयाँ कार्यसमितिको कार्यकालभर काठमाडौंमा रही पूर्णकालीन रूपमा एशोसिएसनका लागि मन, वचन र कर्मले समर्पित हुँदै मैले प्रस्तुत गरेका एजेण्डाहरू पूरा गर्ने संकल्प मैले लिएको छु। यसकारण भेटेरिनरियनहरूले मलाई मतदान गर्नुहुनेछ भन्ने विश्वास मैले लिएको छु।

यो विशुद्ध पेशागत गैरनाफामूलक संस्थामा नेतृत्वका लागि सधैं प्रतिस्पर्धा हुने गर्छ। यहाँहरूले सहमतिको प्रयासहरू गर्नुभएन ?
एशोसिएसनको विधानअनुसार जो कोही साधारण सदस्यले पनि कार्यकारिणी समिति पदाधिकारिका लागि उम्मेदवार हुन पाउँछ। विगतमा हामी भेटेरिनरियनहरूको संख्या न्यून हुँदा प्रायः सहमतिबाटै कार्यसमिति चयन गर्ने अभ्यास थियो। यस पटक पनि सहमतिमै अगाडि बढ्नुपर्छ भन्ने मेरो पनि मान्यता थियो। तर आज त्यस्तो अवस्था छैन। धेरै साथीहरूबाट प्राप्त सुझाव अनुसार सहमतिका नाममा नेतृत्व गर्ने चाहना भएका केही साथीहरूलाई कार्यसमितिमा समेट्न नसक्दा कार्यसमितिमा अटाउन नसक्ने साथीहरूमा सधैं एक किसिमको असन्तुष्टि र नैराश्यता रहने भएकाले त्योभन्दा प्रजातान्त्रिक अभ्यासबाट बहुमतको रोजाइ सबैको रोजाइ भन्ने मान्यताबाट अगाडि बढ्दा उपयुक्त हुने सुझाव पनि पाएँ। त्यसैले पनि निर्वाचनमा जाने अवस्था निम्त्यायो।

नेपालको पशु चिकित्सा क्षेत्रको मेरुदण्ड भनेका चिकित्सक र प्राविधिकहरू नै हुन्। तर, बेलाबेलामा यी पक्षबीच मनमुटावको स्थिति सिर्जना भएको छ। त्यसमा यहाँको के भनाइ छ ?
समग्रमा पशु चिकित्सक र प्राविधिकहरू पशु चिकित्सा क्षेत्रका परिपूरक हुन्। यिनीहरू बीचको सम्बन्ध अनोन्याश्रित छ। मूलतः शैक्षिक ज्ञान र सो बमोजिमको प्राधिकारले कार्यस्तरमा केही विविधता निर्धारण गरेको हुन्छ। समग्र पशु चिकित्सा क्षेत्रको विकासलाई रिले दौडसँग तुलना गर्ने हो भने पशु चिकित्सकको संरक्षण बाहिरको प्राविधिक भनेको व्याटन (धावकले लिने र अर्को धावकलाई दिने लठ्ठी) बिनाको रिले दौडको धावकजस्तो हुन्छ। यस्तो दौडमा दुवैको हार सुनिश्चित हुन्छ। तर आत्तिनुपर्ने अवस्था म देख्दिनँ। आगो बाल्न अगुल्टो ठोसे जस्तै वा भाँडा चम्काउन खस्रो लुँडोले घोटे जस्तै हो हालको अवस्था। निकट भविष्यमा नै योग्यता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूल्य, मान्यता र अभ्यास, सह–अस्तित्व र परिपूरणको आत्मबोध जस्ता अन्तरिक तथा बाह्य कारकले संयोजन र सहकार्यको अवस्था सिर्जना गर्दै समग्र पशुपालन क्षेत्र लाभान्वित हुनेगरी अगाडि बढ्ने वातावरण बन्नेछ भन्ने विश्वास लिएको छु। यसका लागि आवश्यक समन्वयात्मक भूमिकासमेत निर्वाह गर्ने प्रण गर्दछु।

अन्त्यमा, यहाँले केही भन्नु छ ?
भेट टाइम्सले नेपालको भेटेरिनरी सेवाको क्षेत्रमा पु¥याएको योगदानका लागि धन्यवाद ज्ञापन गर्दछु।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *