“सशक्त पोल्ट्री उद्योग: दिगोपन र आर्थिक समृद्धि” विषयक एकदिवसीय अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न

काठमाडौं । कुखुरापालन क्षेत्रमा दिगोपनाको प्रवर्द्धन तथा आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यका साथ नेपाल भेटेरिनरी पोल्ट्री एसोसिएसन (NVPA) र इन्डियन पोल्ट्री रिभ्यु (IPR) को संयुक्त आयोजनामा “Resilient Poultry Industry: Adapting for Sustainability and Economic Success” शीर्षकमा एकदिवसीय अन्तर्राष्ट्रिय कार्यशाला भरतपुर महानगरपालिका–१० स्थित होटल सिराइचुलीमा सम्पन्न भएको छ। जेष्ठ १५ गते मा सम्पन्न यस कार्यशालामा नेपाल तथा भारतका १०३ भन्दा बढी वैज्ञानिक, उद्यमी, शिक्षाविद् र नीति निर्माताहरू सहभागी थिए।

कार्यशालामा विशिष्ट अतिथिको रूपमा IPEMA तथा Poultry India का अध्यक्ष श्री उदय सिंह व्यास उपस्थित हुनुहुन्थ्यो। साथै, कृषि तथा वन विश्वविद्यालयका पूर्व कुलपति प्रा. डा. आई. पी. ढकालले पोल्ट्री व्यवसायको दिगोपनाका लागि अनुसन्धानमा आधारित नीतिहरू आवश्यक रहेकोमा जोड दिनुभयो। कार्यक्रममा डा. दिनेश गौतमले अतिथि तथा कार्यपत्र प्रस्तुत गर्ने वक्ताहरूलाई स्वागत गर्नुभएको थियो भने इन्डियन पोल्ट्री रिभ्युका अध्यक्ष संजय मुखर्जीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

भारतीय पोल्ट्री विज्ञान संघका अध्यक्ष तथा DUVASU, मथुरामा पोल्ट्री विज्ञानका विभागाध्यक्ष प्रा. डा. पी. के. शुक्लाले कुखुरा क्षेत्रका नवीनतम प्रवृत्ति र दिगो उत्पादन प्रणालीका विविध पक्षमा महत्वपूर्ण प्रस्तुति दिनुभयो।

कार्यशालामा नेपालमा पोल्ट्री उद्योग: अनिश्चितताबीचको सम्भावनाबारे डा. दिनेश गौतम र प्रा. डा. सुबीर सिंहले नेपालको पोल्ट्री व्यवसायका अवसर र चुनौतीबारे विश्लेषण प्रस्तुत गर्नुभयो। प्रा. डा. ए. एस. राणादेले वातावरणमैत्री फिड प्रविधिको विकास र प्रभावबारे प्रकाश पार्नुभयो। डा. विजय कुमार श्रेष्ठ र प्रा. डा. रेबन्त कुमार भट्टराईले पोल्ट्री क्षेत्रमा देखा पर्ने रोगहरू र तिनको रोकथाम तथा नियन्त्रण रणनीतिबारे जानकारी दिनुभयो। डा. सन्तोष एम. आइरेले स्वस्थ पानी व्यवस्थापनको महत्त्वबारे चर्चा गर्नुभयो। सेपिएन्स ग्रुप, भारतका श्री प्रशान्त कुमारले प्रविधिको प्रयोगबाट उत्पादन र व्यवस्थापन कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा प्रस्तुति दिनुभयो। डा. पवन कुमारले बिहार राज्यको पोल्ट्री व्यवसायमा भइरहेका अभ्यासहरूबारे अनुभव सुनाउनुभयो।

कार्यक्रममा नेपाल र भारतबीच नीति समन्वय, प्रविधि हस्तान्तरण, तथा संयुक्त अनुसन्धानको आवश्यकता र सम्भावनाबारे गहन प्यानल छलफल गरियो। यो अन्तर्राष्ट्रिय कार्यशाला “Knowledge Review” शृङ्खलाको दोस्रो संस्करण हो। यसअघि पहिलो संस्करण सन् २०२४ को अक्टोबर ५ मा काठमाडौंमा सम्पन्न भएको थियो। यस प्रकारका कार्यक्रमले पोल्ट्री व्यवसायमा संलग्न उत्पादक, वैज्ञानिक, उद्यमी र नीति निर्माताहरूलाई एउटै मञ्चमा ल्याएर ज्ञान, नीति तथा प्रविधिको साझा विकास र दिगोपनामा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *