धादिङको त्रिपुरासुन्दरीमा अत्याधुनिक कृषि तथा पशु सेवा केन्द्र सञ्चालनमा

काठमाडौं। धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा अत्याधुनिक प्रयोगशालासहितको कृषि तथा पशुपन्छी सेवा केन्द्रको उद्घाटन गरियो। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मंगलबार ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड) द्वारा निर्मित यस केन्द्रको उद्घाटन गरे।

मन्त्री अधिकारीले यस केन्द्रको सञ्चालनबाट किसानले माटो, बाली तथा पशुपन्छीमा लाग्ने रोगको परीक्षणका लागि सहज र सुलभ सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे। उनले यस्ता सेवा केन्द्रहरूको निर्माण र सञ्चालन कृषि कर्म गर्ने किसानका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। “किसानलाई आफ्नै गाउँठाउँमा सहज तरिकाले सेवा प्रदान होस् भन्ने उद्देश्यले मन्त्रालयले काम गरिरहेको छ,” मन्त्री अधिकारीले भने, “मन्त्रालयले गरेका पछिल्ला निर्णय र प्रयासले कृषि क्षेत्रमा छिट्टै सकारात्मक परिवर्तन देखिनेछ।”

आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्र सुधारका लागि थुप्रै अपेक्षा रहेको र केहीको सम्बोधन बजेटमार्फत हुने उनले जानकारी दिए। पछिल्लो समय रासायनिक मल खरिदलाई सरलीकृत गर्न खरिद नियमावलीमा संशोधन गरिएको र यसबाट मल खरिदमा लाग्ने समय छोटो हुने उनले बताए। समयमै किसानको बारीमा मल पुर्‍याउन प्रयास गरे पनि मागअनुसार उपलब्ध गराउन नसकिएको स्वीकार गर्दै मन्त्री अधिकारीले रासायनिक मलको प्रयोग घटाएर प्राङ्गारिक मलको प्रवद्र्धनका लागि मन्त्रालयले काम गरिरहेको उल्लेख गरे।

धादिङको सल्यानटार आसपासमा कृषि अनुसन्धान परिषद् (नार्क) को अनुसन्धान केन्द्र स्थापनाको गृहकार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै मन्त्री अधिकारीले यस कार्यका लागि पालिकालाई अग्रसरता लिन आग्रह गरे।

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले यस सेवा केन्द्रमार्फत वरपरका पालिकाहरूलाई समेत सेवा प्रदान गर्न सकिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले माटो लगायतको परीक्षणका लागि काठमाडौँसम्म जानुपर्ने बाध्यताको अन्त्य हुने र यसबाट कृषि उत्पादनमा वृद्धि हुने अपेक्षा राखे।

कार्यक्रममा रिडका परियोजना निर्देशक डा. चन्द्रप्रसाद रिसालले सेवा केन्द्रको सञ्चालनमार्फत किसानले आफ्नै पालिकामा एकै छानामुनि विशिष्टीकृत सेवा प्राप्त गर्न सक्ने बताए। कार्यक्रममा जिल्लाका विभिन्न पालिकाका पदाधिकारीले कृषिको उत्पादन र बजारीकरणमा मन्त्रालयको सहयोगको अपेक्षा व्यक्त गरे।

कुल २ करोड ४३ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भई पालिकालाई हस्तान्तरण गरिएको यस सेवा केन्द्रमा कृषि तथा पशुपन्छीमा लाग्ने रोगका साथै माटो परीक्षणका लागि अत्याधुनिक प्रयोगशाला सहितको सुविधा रहेको छ। रिडले मध्यपहाडी लोकमार्गलाई आधारमानी विभिन्न पालिकाहरूमा अत्याधुनिक प्रयोगशालासहितका यस्ता कृषि तथा पशुपन्छी सेवा केन्द्रहरू निर्माण गरी हस्तान्तरण गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *