सुदूरपश्चिमका भेटेरिनरी चिकित्सकहरूलाई ’फिड फर्मुलेसन’ तालिम

काठमाडौं। सुदूरपश्चिम प्रदेशको पशुपालन क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउने उद्देश्यका साथ धनगढीस्थित पशु सेवा तालिम केन्द्रको आयोजनामा तीन दिने ’फिड फर्मुलेसन’ तालिम सम्पन्न भएको छ। प्रदेशका ९ वटै जिल्लाका १४ जना दर्तावाल पशु चिकित्सकको सहभागिता रहेको यो तालिमले पशुधनको उत्पादनशीलता वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
जेठ ११ गतेदेखि १३ गतेसम्म सञ्चालित तालिममा डा. विष्णु हरि शर्माले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो। उहाँले सहभागीहरूलाई दाना बनाउने (फिड फर्मुलेसन) को सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक सीप पनि प्रदान गर्नुभएको तालिम संयोजक दिलीप शाहले जानकारी दिनुभया े।
तालिमका क्रममा सहभागी पशु चिकित्सकहरूलाई दानाका लागि कच्चा पदार्थको छनोट कसरी गर्ने, तिनको गुणस्तर कसरी नियन्त्रण गर्ने, विभिन्न पशुपन्छीका लागि पोषण आवश्यकता के–कति हुन्छ र सोही अनुसार साना तथा ठूला मात्रामा दाना कसरी बनाउने भन्नेबारे विस्तृत रूपमा सिकाइएको थियो। यसका साथै, तालिमको महत्वपूर्ण भागका रूपमा सहभागीहरूले वेस्टर्न फिड इन्डस्ट्रिजको स्थलगत भ्रमण गरी दाना उत्पादन प्रक्रियाको प्रत्यक्ष अवलोकन गरेका थिए। यसले सैद्धान्तिक ज्ञानलाई व्यावहारिक अनुभवसँग जोड्न मद्दत पुगेको सहभागीहरूले बताए।
तालिमको शुभारम्भ सुदुर पश्चिम प्रदेशका भुमि ,व्यावस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव शंकर साहको उपस्थितिमा भएको थियो भने समापन समारोहमा पशुपन्छी तथा मस्त्य विकास निर्देशनालयका महानिर्देशक डा. पान सिंह ठगुन्नाको उपस्थिति रहेको थियो।
तालिममा सहभागी पशु चिकित्सकहरूले तालिम अत्यन्तै प्रभावकारी र समय सान्दर्भिक भएको प्रतिक्रिया दिएका छन्।