नेपाल पशुपन्छी औषधि व्यवसायी संघद्वारा जग्गा दाता सूना सुवेदीलाई विशेष सम्मान

काठमाडौं ।नेपाल पशुपन्छी औषधि व्यवसायी संघले संघलाई निःशुल्क रूपमा जग्गा दान गर्ने सूना सुवेदी बडाललाई आज एक विशेष समारोहबीच सम्मान गरेको छ। राजधानीको तीनकुनेस्थित सिद्धार्थ कटेजमा केन्द्रीय कार्यसमिति, बागमती प्रदेश कार्यसमिति तथा बागमती जिल्ला शाखाको संयुक्त रूपमा आयोजित कार्यक्रममा सुवेदीलाई दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गर्दै संघको तर्फबाट औपचारिक कृतज्ञता व्यक्त गरिएको हो।

संघका केन्द्रीय अध्यक्ष रितेश रिमालले संघका लागि जग्गा प्राप्तिको प्रक्रिया माघ महिनादेखि सुरु गरिएको जनाउँदै, दान लिने प्रक्रिया अत्यन्तै झन्झटिलो भएको बताए। उनले भने, “झन्डै दुई महिना लागेको यो प्रयत्न आज साकार भएको छ।” उनले यस घडीमा दाता सुवेदीलाई आफ्नो हृदयदेखि धन्यवाद दिँदै यो योगदान संघको इतिहासमै अत्यन्तै महत्वपूर्ण रहेको बताए।

कार्यक्रममा जग्गा दाता सूना सुवेदी बडालले सम्बोधन गर्दै आफूले कुनै स्वार्थ नराखेको बताइन्। उनले भनिन्, “मैले कुनै निजी स्वार्थ नराखी, निःस्वार्थ भावनाबाट संघलाई जग्गा दिएको हुँ। यो कामबाट भावी पुस्ताले पनि प्रेरणा पाओस् भन्ने चाहना राखेकी छु।” उनले दान दिइएको स्थानमा संघको आफ्नै भवन निर्माण गर्नुपर्ने आवश्यकता पनि औँल्याइन्।

सम्मान कार्यक्रमका प्रमुख अतिथि एवं पूर्वअध्यक्ष नवराज शर्मा तिमल्सिनाले आफू अत्यन्तै हर्षित भएको बताउँदै, अब चाँडै प्राप्त जग्गामा भवन निर्माण सकिई संघका बैठकहरू आफ्नै भवनमा गर्न सकियोस् भन्ने आफ्नो चाहना रहेको बताए। उनले पूर्वअध्यक्ष हेमराज बडाल र प्रजापति बस्तोलाद्वारा घोषणा गरिएको १०–१० लाख रुपैयाँ समेत संकलन गरी भवन निर्माणलाई तीव्रता दिनुपर्ने सुझाव दिए। साथै, उनले देशभरिबाट सहयोग रकम जम्मा गरी भवन निर्माणलाई अग्रता दिन आह्वान गर्दै, आफूले सकेको आर्थिक सहयोगसँगै १० दिन श्रमदान पनि दिने घोषणा गरे।

यस्तै, पूर्वअध्यक्ष रेवती रमण निरौलाले सबै सदस्यले आर्थिक तथा श्रम सहयोग गरेर भवन निर्माणलाई सफल पार्नुपर्ने धारणा राखे।

पूर्वअध्यक्ष चित्रबहादुर गुरुङले केही व्यक्तिहरूले ‘दिन्छु’ भनी जग्गा नदिएको अवस्थाबाट अघि बढ्दै सूना सुवेदीले वास्तविक योगदान दिएकामा हार्दिक धन्यवाद व्यक्त गरे। “संघले बोलको मात्रै नभई व्यवहारमै देखिएको ऐतिहासिक कार्य सम्पन्न गरेको छ,” गुरुङले भने।

संघका महासचिव साधुराम ढकालले चाँडै भवन निर्माणको शिलान्यास गरिने र यही कार्यसमितिबाट निर्माण सम्पन्न गरी संघको कार्यालय स्थानान्तरण गरिने योजना रहेको बताए।

कार्यक्रममा बागमती प्रदेश अध्यक्ष ईश्वरकुमार थापाले सुवेदीलाई सम्मानपत्र र दोसल्ला प्रदान गर्दै उच्च प्रशंसा व्यक्त गरे। बागमती जिल्ला शाखाका अध्यक्ष कृष्णबहादुर अधिकारी (रामेश) ले पनि सम्मानपत्र प्रदान गरेका थिए।

कार्यक्रममा बोल्दै बागमती प्रदेश अध्यक्ष ईश्वर थापाले आफू जग्गा प्राप्ति समितिमा रहेको नाताले यो कार्य सम्पन्न हुनुमा गर्व महसुस गरेको बताए। संघका सल्लाहकार नारायणबहादुर भुजेलले अघिल्लो कार्यकालमा सुरु गरिएको जग्गा प्रक्रिया आज सफलता प्राप्त भएकोमा सन्तोष व्यक्त गर्दै सूना सुवेदीप्रति गहिरो कृतज्ञता प्रकट गरे।

कार्यक्रममा संघका पूर्वपदाधिकारी, सल्लाहकार, सदस्य तथा विभिन्न प्रदेश तथा शाखाबाट आएका व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *