नेपाल भेटेरिनरी एशोसिएसनको अध्यक्ष पदमा त्रिपक्षीय प्रतिस्पर्धा, अन्य पदमा को–को उम्मेदवार?

काठमाडौँ । नेपाल भेटेरिनरी एशोसिएसनको आगामी जेठ १७ गते हुने वार्षिक साधारण सभा तथा अधिवेशन काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा हुने भएको छ। नेपाल भेटेरिनरी एशोसिएसनले एक सूचना जारी गर्दै आफ्ना सम्पूर्ण सदस्यहरूलाई सो समारोहमा उपस्थितिको लागि अनुरोध समेत गरेको छ।
आसन्न अधिवेशनमा एशोसिएसनका विभिन्न पदमा उम्मेदवारी दिने क्रम चलिरहेको छ। हालसम्म प्राप्त जानकारीअनुसार केन्द्रीय अध्यक्षका लागि नेपाल भेटेरिनरी एशोसिएसनका हालका महासचिव डा. केदार सुवेदी, नेपाल भेटेरिनरी एशोसिएसनका पूर्व महासचिव डा. उमेश दाहाल तथा नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेशका पूर्व अध्यक्ष डा. केदारराज पाण्डेले अध्यक्ष पदमा आफ्नो दाबेदारी प्रस्तुत गर्दै चुनावी प्रचार अभियान सुरु गरेका छन्।
वर्तमान महासचिव डा. केदार सुवेदीले ‘हामी सबैको इच्छा, सम्मानित पशु चिकित्सा’ भन्ने नाराका साथ अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। उनले आफू बहुमतले विजयी हुने विश्वास व्यक्त गर्दै ‘जेठ १७’ गतेको निर्वाचनमा आफूलाई मतदान गर्न आग्रह गरेका छन्।
यस्तै, पशु सेवा विभागका पूर्व महानिर्देशक एवं हाल मधेश प्रदेशका कृषि सचिव डा. उमेश दाहालले आफू यसअघि केन्द्रीय सदस्य र महासचिवको जिम्मेवारी सम्हालिसकेको बताउँदै ‘निर्माणाधीन नेपाल भेटेरिनरी एशोसिएसन भवनको निर्माण सम्पन्नताको सुनिश्चित गर्ने’, ‘सार्वजनिक, निजी, अनुसन्धान, विश्वविद्यालय, प्राविधिक विद्यालय लगायतका क्षेत्रमा कार्यरत भेटेरिनरीयनहरूलाई समेट्ने’, ‘भेटेरिनरीयनसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग समन्वय र सहकार्य गर्ने’ तथा ‘प्रादेशिक नेपाल भेटेरिनरी एशोसिएसन कमिटीको सशक्तिकरण गर्ने’ प्रतिबद्धता व्यक्त गरेका छन्। उनले ‘उत्कृष्ट पेसाका लागि सशक्त नेतृत्व रोजौं’ भन्ने नाराका साथ जेठ १७ गतेको निर्वाचनका लागि आफूलाई निर्वाचित गर्न आह्वान गरेका छन्।
अध्यक्ष पदका अर्का उम्मेदवार डा. केदारराज पाण्डेले ‘सेवा, सोच र समर्पणको अठोट, अबको अध्यक्षमा डा. पाण्डेलाई भोट’ भन्ने नाराका साथ आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्। उनी नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेशका दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका अवकाशप्राप्त वरिष्ठ भेटेरिनरी अधिकृत हुन्। पाण्डेले ‘हाम्रो पेसाका लागि सँगै’ भन्ने प्रतिबद्धताका साथ चुनावी मैदानमा उत्रिएका छन्।
नेपाल भेटेरिनरी एशोसिएसनको अध्यक्ष पदका लागि तीन जना सशक्त उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएपछि यसपटकको निर्वाचन निकै रोचक हुने देखिएको छ।
यस्तै, एशोसिएसनको उपाध्यक्ष पदमा पनि दुई जनाबीच प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिस्पर्धामा दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादव र नेपाल पशु चिकित्सा परिषद्का रजिष्ट्रार डा. रामकुमार मण्डल रहेका छन्। हालसम्म प्राप्त जानकारीअनुसार महासचिव पदमा एनभिएका वर्तमान सचिव डा. शंकर न्यौपाने र पशु सेवा विभागका डा. चिरञ्जिवी पन्थीबीच प्रतिस्पर्धा हुने देखिएको छ।
सचिव पदमा भने हालसम्म नेपाल पशु चिकित्सा परिषद्मा कार्यरत डा. विशाल पोखरेलको एकल दाबेदारी देखिएको छ।
यस्तै, कार्यसमितिको कोषाध्यक्ष पदमा हालका केन्द्रीय सदस्य डा. नविन पन्थी, डा. सौरभ श्रेष्ठ र डा. विकास श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन्।