संघको नाममा जग्गा पास : नेतृत्वद्वारा ऐतिहासिक निर्णय कार्यान्वयन

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघकी केन्द्रीय उपाध्यक्ष सुना सुवेदी बडालले आफू सम्बद्ध संघको भवन निर्माणका लागि दान दिने घोषणा गरेको जग्गा अन्ततः संघको नाममा रजिष्ट्रेसन पास भएको छ।
बडालले आफ्नो स्वामित्वमा रहेको ४ आना ३ पैसा १ दाम क्षेत्रफलको जग्गा भवन निर्माणका लागि निःशुल्क दान दिने यस अघी घोषणा गरेकी हुन्। उक्त जग्गा अब औपचारिक रूपमा नेपाल पशुपन्छी औषधि व्यवसायी संघको नाममा दर्ता भइसकेको छ।
संघका अध्यक्ष रितेश रिमालले उपाध्यक्ष सुवेदीले संघको भवन निर्माणार्थ दान दिएको जग्गा आवश्यक कानुनी प्रक्रिया पूरा गरी आज संघको नाममा प्राप्त भएको जानकारी दिए। उनले भने, “हामी अहिले मालपोत कार्यालयमै छौं, जग्गा संघको नाममा आयो।”
पशुपन्छी औषधि व्यवसायीहरूको छाता संगठनको अहिलेसम्म निजी भवन थिएन। त्यसैले उपाध्यक्ष बडालले दान गरेको यस जग्गाले संघको स्थायित्व, भौतिक पूर्वाधार निर्माण र दीर्घकालीन संस्थागत विकासमा ऐतिहासिक योगदान पुर्याउने विश्वास गरिएको छ।
उपाध्यक्ष सुना सुवेदी बडालले संघलाई भवन निर्माणमा सहयोग पुर्याउने उद्देश्यले बिना कुनै शर्त उक्त जग्गा दान गरेकी हुन्। साथै, जग्गा प्राप्तिका लागि लाग्ने आवश्यक राजस्व र अन्य सम्पूर्ण खर्च आफैंले व्यहोरेर संघलाई कुनै आर्थिक भार नपर्ने गरी जग्गा हस्तान्तरण गरेको जानकारी दिईन् ।