स्याङ्जाको चापाकोटमा अफ्रिकन स्वाईन फिभरको प्रकोप : २५ बङ्गुर मरे, सतर्क रहन आग्रह

काठमाडौं । स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका–९ मा रहेको गहतराज बहुउद्देश्यीय कृषि तथा पशुपालन फर्ममा अफ्रिकन स्वाईन फिभर (ASF) को प्रकोप देखिएपछि २५ वटा बङ्गुर मरेका छन्।
नगरपालिकाको पशु सेवा शाखा प्रमुख समीक्षा रोकायाका अनुसार हालै सात वटा माउ र एक भाले बङ्गुर मरेका हुन् भने केही दिनअघि १७ वटा पाठापाठी मरेका थिए। मरेका जनावरबाट संकलन गरिएको नमुनाको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, काठमाडौंमा रियल टाइम पिसिआर प्रविधिबाट परीक्षण गर्दा अफ्रिकन स्वाईन फिभर पुष्टि भएको हो।
रोग अझै फैलन सक्ने उच्च जोखिम रहेकाले सावधानी अपनाउन र जैविक सुरक्षा उपायहरूलाई कडाइका साथ पालना गर्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले आग्रह गर्नुभएको छ। एक विज्ञप्तिमार्फत घिमिरेले संक्रमित फर्म वरपर निगरानी बढाउन, नयाँ बङ्गुरको आवत–जावत रोक्न, तथा मरेका जनावरलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्न किसानहरूलाई निर्देशन दिनुभएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्याङ्जाका प्रमुख डा. रुपेश श्रेष्ठका अनुसार अफ्रिकन स्वाईन फिभर बङ्गुर र बँदेलमा मात्र सर्ने रोग हो। मान्छेमा असर नगर्ने भए पनि बङ्गुरका लागि अत्यन्त घातक भएको उहाँले बताउनुभयो। हालसम्म यो रोगको कुनै खोप वा औषधि उपलब्ध नभएकोले केवल जैविक सुरक्षाका माध्यमबाट मात्र नियन्त्रण सम्भव रहेको उहाँको भनाइ छ।
“मरेका बङ्गुरलाई सावधानीपूर्वक गाड्न, फार्ममा निसंक्रमण गर्न र नयाँ बङ्गुर भित्र्याउनु पूर्व परीक्षण अनिवार्य गर्नुपर्छ,” डा. श्रेष्ठले भन्नुभयो। रोग देखिएपछि प्राविधिक टोलीलाई तत्काल प्रभावित क्षेत्रमा पठाइएको समेत जानकारी गराइएको छ।
अफ्रिकन स्वाईन फिभर लागेपछि बङ्गुरमा उच्च ज्वरो, खाना नखाने, सुस्त देखिने, र एक–दुई दिनमै मर्ने जस्ता लक्षण देखिन्छन्। यस रोगले एकै पटक धेरै बङ्गुरको मृत्यु गराउने सम्भावना हुने भएकाले चापाकोट नगरपालिका तथा विशेषज्ञहरूले उच्च सतर्कता अपनाउन सबै किसानहरूलाई पुनः आग्रह गरेका छन्।- गोरखापत्रबाट