नार्क सुधारका लागि प्रा.डा. गोविन्दराज पोख्रेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन

काठमाडौं। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को पुनर्संरचना गर्न सरकारद्वारा प्रा.डा. गोविन्दराज पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय पुनर्संरचना सुझाव समिति गठन गरिएको छ। समितिमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा.डा. ईश्वरी कडरीया र डा. यज्ञ गजाधर खड्का सदस्य रहेका छन्।

समितिका पदाधिकारीहरुलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नार्कलाई समय सापेक्ष रूपमा सुधार गर्न उच्चस्तरीय समितिले उपयुक्त सुझावहरू प्रस्तुत गर्ने विश्वास व्यक्त गर्नुभयो। समितिलाई ९० दिनको कार्यअवधि दिइएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नार्कको वर्तमान संरचनामा विभिन्न समस्या देखिएपछि यसको कार्यसञ्चालन प्रभावकारी बन्न नसकेको पाइएको छ। विगतमा भएका अध्ययनहरूले पनि नार्कलाई प्रभावकारी बनाउन यसको पुनर्संरचना आवश्यक रहेको सुझाव दिएका थिए। यही सुझावका आधारमा मन्त्रालयले तयार पारेको प्रस्तावलाई मन्त्रिपरिषद्को हालै सम्पन्न बैठकले स्वीकृति दिएको हो।

उक्त उच्चस्तरीय समितिलाई नार्कको विगतका उपलब्धिहरू तथा चुनौतीहरूको समिक्षा गर्ने, ऐन, नियम, नीति लगायत कानुनी दस्तावेज तथा प्रतिवेदनहरूको पुनरवलोकन गर्ने, अन्य मुलुकमा कृषि अनुसन्धान संस्थानसम्बन्धी अपनाइएका असल अभ्यासहरूको अध्ययन गर्ने, संघीयताको भावना र मर्मअनुसार नार्कलाई समयसापेक्ष रूपमा पुनर्संरचना गर्न सुझाव दिने, र वैज्ञानिकहरूको दीर्घकालीन संलग्नता सुनिश्चित गर्ने रणनीति प्रस्ताव गर्ने जिम्मेवारी दिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *