पशु सेवा विभागको महानिर्देशकमा डा. तिवारी

काठमाडौं — करिब चार महिनापछि पशु सेवा विभागले नयाँ नेतृत्व पाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज मन्त्रीस्तरीय निर्णयमार्फत डा. रामानन्दन तिवारीलाई विभागको महानिर्देशकको रूपमा नियुक्त गरेको हो।
नवनियुक्त महानिर्देशक डा. तिवारीले मन्त्रालयबाट आफूले यो जिम्मेवारी पाएको जानकारी भेट टाइम्स मासिकलाई दिएका छन्।
पूर्व महानिर्देशक डा. उमेश दाहाल प्रदेश सचिवमा सरुवा भएपछि विभाग नेतृत्वविहीन बनेको थियो। लामो समयसम्म अनिश्चितता रहँदा मन्त्रालयले अन्ततः आज मन्त्रीस्तरीय निर्णय गर्दै डा. तिवारीलाई जिम्मेवारी दिने निर्णय गरेको हो।
महानिर्देशकका लागि आधा दर्जनभन्दा बढी आकांक्षी भए पनि तिवारी अन्तिम रोजाइमा परेका हुन्।
यो तिवारीका लागि विभागको नेतृत्व गर्ने दोस्रो अवसर हो। यसअघि उनले केही समयका लागि विभागको नेतृत्व सम्हालेका थिए।
नवनियुक्त महानिर्देशक डा. तिवारीले सबै पक्षलाई समेटेर सेवा प्रभावकारी बनाउनेतर्फ आफू केन्द्रित हुने प्रतिक्रिया दिएका छन्।