केबीएनपी र कान्तिपुरबीच सम्झौता, अब कोरियाली प्रविधिको प्रयोगमा नेपालमै भेटेरिनरी औषधि उत्पादन हुने

काठमाडौं | नेपालकै अग्रणी पशु औषधि उत्पादक कम्पनी कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड (केपीएल) र दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी केबीएनपी कोरियाबीच नेपालमै पशु औषधि उत्पादनका लागि प्रविधिक साझेदारी सम्झौता सम्पन्न भएको छ।
सम्झौता नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा आयोजित कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल र पशु सेवा विभागकी सहसचिव डा. सलिना मानन्धरको उपस्थितिमा सम्पन्न भएको हो। केपीएलका अध्यक्ष हेमराज बडाल र केबीएनपी कोरियाका प्रतिनिधि हानी स्वंगले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
यस सहकार्य अन्तर्गत केपीएलले केबीएनपी कोरियाको प्रविधि र सीप प्रयोग गरी नेपालमै अन्तर्राष्ट्रिय मापदण्डअनुसारका उच्च गुणस्तरयुक्त पशु औषधिहरू उत्पादन गर्नेछ। कम्पनीले रिसर्च एण्ड डेभलपमेन्ट (R&D) मा केन्द्रित रही औषधिको अनुसन्धान र नवप्रवर्तनमा विशेष ध्यान दिने जनाएको छ।
केपीएलका प्राविधिक प्रमुख विवेकसिंह महतका अनुसार, केबीएनपीका प्राविधिक टोलीले सन् २०२५ जनवरी ८ मा केपीएलको गुणस्तर अडिट सफलतापूर्वक सम्पन्न गरेपछि औपचारिक सहकार्यको बाटो खुलेको हो।
अध्यक्ष हेमराज बडालले भने, “यस प्रविधिक साझेदारीले नेपालमा पशु औषधि उत्पादन क्षेत्रमा नयाँ युगको सुरुवात गर्नेछ। विदेशी प्रविधिसँगको सहकार्यले हामीलाई अन्तर्राष्ट्रिय बजारस्तरको औषधि उत्पादनमा सक्षम बनाउनेछ र स्वदेशी पशुपालकलाई गुणस्तरीय औषधि सहज रूपमा उपलब्ध गराउनेछ।”
केबीएनपीका प्रतिनिधि हानी स्वंगले भने, “कान्तिपुर फर्मास्युटिकल्सको उत्पादन संयन्त्र, व्यवस्थापन प्रणाली र गुणस्तर नियमन प्रणालीप्रति हामी विश्वस्त छौँ र यस साझेदारीबाट सकारात्मक परिणाम आउनेमा ढुक्क छौँ।”
कान्तिपुर फर्मास्युटिकल्स हाल देशभर ७ वटा शाखा तथा ७६ वटा एजेन्सीमार्फत विभिन्न प्रकारका पशु औषधि र सप्लिमेन्ट्स उत्पादन तथा वितरण गरिरहेको छ। कम्पनीले हालसम्म ८० प्रकारका औषधिको व्यावसायिक उत्पादन अनुमतिपत्र तथा ४० प्रकारको अनुसन्धानात्मक उत्पादन स्वीकृति प्राप्त गरिसकेको छ।
कम्पनीले २०७४ सालदेखि भक्तपुरको सानोठिमीमा उच्चस्तरीय औषधि उत्पादन प्लान्ट सञ्चालनमा ल्याएको थियो। आगामी मंसीर महिनाबाट केबीएनपी प्रविधिमा आधारित उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ।
केबीएनपी कोरिया सन् १९८० मा स्थापना भएको कम्पनी हो जसले पशु औषधि उत्पादनमा लामो अनुभव राख्दछ। कम्पनीले बायर कोरियाबाट प्रविधि ल्याएर पशु स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।