नेपाल कुखुरा व्यवसायी मञ्चद्वारा ‘पोल्ट्री डायरी २०८२’ विमोचन

काठमाडौं | नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा प्रकाशित ‘पोल्ट्री डायरी २०८२’ को औपचारिक बिमोचन कार्यक्रम टिकौली इको पार्क, रत्ननगरमा सम्पन्न भएको छ। हरेक नयाँ वर्षको अवसरमा नियमित रूपमा प्रकाशन हुँदै आएको यस डायरीको बिमोचन मञ्चका अध्यक्ष रघुनाथ भट्टको सभापतित्वमा र मञ्चका पूर्व अध्यक्ष ऋषिराम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा अध्यक्ष भट्टले उद्घाटन मन्तव्य दिंदै पोल्ट्री डायरीको उद्देश्य, पोल्ट्री व्यवसायको वर्तमान अवस्था, संघ–संस्थाहरूको भूमिका तथा व्यवसायीहरूबीच समन्वय कायम गर्न डायरीले खेलेको भूमिकाबारे प्रकाश पार्नुभयो। उहाँले डायरीले देशभरिका व्यवसायीहरूलाई मात्र नभई अन्तर्राष्ट्रिय समन्वयमा समेत सहयोग पुर्याएको बताउनुभयो।
मुख्य अतिथि पौडेलले डायरीको औपचारिक बिमोचन गर्दै मञ्चको स्थापना कालदेखि हालसम्मको योगदानबारे चर्चा गर्नुभयो। कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने, नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष बिनोद पोखरेल, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका अध्यक्ष महेश्वर पोखरेल लगायतका विशिष्ट अतिथिहरूले पनि डायरी बिमोचनमा सक्रिय सहभागिता जनाएका थिए।
डायरी प्रकाशन समितिका संयोजक तथा मञ्चका महासचिव ज्ञानबहादुर बिसुरालले प्रकाशनको प्रक्रिया, चुनौती र उपलब्धिहरूबारे जानकारी दिँदै सबै सहयोगी पक्षप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा मञ्चका कार्यसमिति सदस्य, पोल्ट्री क्षेत्रका विभिन्न संघसंस्थाका पदाधिकारी, र सचिवालयका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन महासचिव बिसुरालले गर्नुभएको थियो।