काठमाडौंमा कुकुर पाल्न दर्ता अनिवार्य, स्थानिय जातलाई निःशुल्क, विदेशी जातलाई २,००० रुपैयाँ शुल्क

काठमाडौं महानगरपालिकाले घरपालुवा जनावरहरूको सुरक्षाका लागि कुकुर र बिरालोमा माइक्रोचिप लगाउन अनिवार्य व्यवस्था लागू गरेको छ। हराएका वा चोरी भएका पाल्तु जनावरलाई पहिचान गर्न सहज बनाउन माइक्रोचिप अनिवार्य गरिएको हो।
‘कुकुर/बिरालो व्यवस्थापन, नियन्त्रण र दर्ता कार्यविधि, २०७९’ अनुसार, सबै घरपालुवा कुकुर तथा बिरालोको माइक्रोचिपसहित वडा कार्यालयमा दर्ता अनिवार्य गरिएको छ।
महानगरपालिकाको ‘आर्थिक ऐन २०८१’ अनुसार, स्थानिय नेपाली जातका कुकुर र बिरालोको दर्ता निःशुल्क हुनेछ भने विदेशी जातका जनावरको दर्ता शुल्क २,००० रुपैयाँ निर्धारण गरिएको छ।
कुकुर/बिरालोका मालिकहरूले माइक्रोचिप लगाएर दर्ता गराउनु पर्नेछ र यदि जनावर मरेमा, हराएमा वा स्थानान्तरण भएमा ७ दिनभित्र सम्बन्धित वडा कार्यालयमा जानकारी दिनुपर्नेछ।
८ हप्ताभन्दा बढी उमेरका कुकुर र बिरालोमा अनिवार्य रुपमा माइक्रोचिप लगाउन महानगरपालिकाले सबै पालकलाई आग्रह गरेको छ। साथै जनावर बेच्ने वा अरूलाई दिने बेलामा पनि माइक्रोचिप लगाएको प्रमाणित गर्नुपर्नेछ।
माइक्रोचिपले हराएका जनावरलाई मालिकसँग पुनर्मिलन गराउन महत्वपूर्ण भूमिका खेल्ने हुँदा यो प्रक्रिया सुरक्षित, छिटो र किफायती हुने महानगरपालिकाले जनाएको छ।