मकवानपुरबाट ट्रकसहित १५ गाईगोरु नियन्त्रणमा, तस्करीको आशंका

काठमाडौं । मकवानपुरमा प्रहरीले ट्रकसहित १५ गाईगोरु नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका गाईगोरु तस्करीका लागि बंगलादेशतर्फ लैजान लागिएको आशंका गरिए पनि खुलेको छैन ।

पशु ढुवानी मापदण्डविपरीत भेटेरिनरी प्रमाणपत्र नलिई क्षमताभन्दा बढी गाईगोरु बोकेर आइरहेको बा प ०३००१ ख १२२० नम्बरको ट्रक मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

भेटेरिनरी प्रमाणपत्र नलिई नवलपरासीबाट ट्रकमा कोचेर हेटौंडातर्फ गाईगोरु ल्याइएको सूचना पशु सेवा कार्यालय, हेटौंडाले पाएको थियो । त्यसैका आधारमा प्रहरीले ती गाईगोरु मंगलबार नियन्त्रणमा लिएको पशु सेवा कार्यालय, मकवानपुरका प्रमुख डा. वज्र किशोर ठाकुरले जानकारी दिए ।

नियन्त्रणमा लिइएकामा ८ गाई र सात गोरु छन् । प्रहरीको फन्दामा पर्न लागेको जानकारी पाएपछि ट्रकका चालक र व्यापारी भागेका थिए ।

ट्रकका चालक र व्यापारी फरार रहेकाले कुन प्रयोजनका लागि गाईगोरु ल्याइएको हो भन्ने खुलेको छैन । हेटौंडाबाट काँकडभिट्टा हुँदै बंगलादेशतर्फ गाईगोरु तस्करी हुँदै आएकाले सोही प्रयोजनका लागि ती गाईगोरु ल्याइएको आशंका आफूहरूले गरेको डा. ठाकुरले जानकारी दिए ।

‘यो रुट भएर बंगलादेशतर्फ गाईगोरु तस्करी हुने गरेकाले त्यसैका लागि ल्याइएको आशंका गरिएको छ,’ ठाकुरले भने, ‘प्रहरीको अनुसन्धान सकिएपछि त्यसको प्रयोजन खुल्ला ।’

नियन्त्रणमा लिइएका १५ वटै गाईगोरु प्रहरी र पशु सेवा कार्यालयको अग्रसरतामा व्यवस्थापन गरिएको छ । डा. ठाकुरले नियन्त्रणमा लिइएका १५ गाईगोरुमध्ये ७ गाई मानव सेवा आश्रम, मकवानपुरलाई र बाँकी गाईगोरु मकवानपुरगढी गाउँपालिका–५ का स्थानीयलाई वितरण गरिएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *