पोल्ट्री व्यवसायीको गृहमन्त्रीलाई आग्रह— सीमा नियन्त्रण कडा पारियोस्

काठमाडौं|भारतमा बर्डफ्लु संक्रमण देखिएपछि चितवनका पोल्ट्री व्यवसायीहरूले रोगको सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल(भारत सीमा क्षेत्रमा निगरानी कडा गर्न गृहमन्त्री रमेश लेखकसँग आग्रह गरेका छन्।

व्यवसायीहरूका अनुसार सीमाबाट सेतो अण्डा, मासु र चल्ला अवैध रूपमा भित्रिन सक्ने खतरा रहेको छ, जसले गर्दा नेपालमा पनि संक्रमण फैलिन सक्ने सम्भावना बढेको छ। यही चिन्ताका कारण उनीहरूले आज गृहमन्त्री लेखकसँग भेट गरी सीमा सुरक्षा कडा पार्न अनुरोध गरेका हुन्।

भेटका क्रममा गृहमन्त्री लेखकले प्रहरी सङ्गठनका प्रमुखहरूलाई बोलाएर सीमाबाट कुनै पनि पोल्ट्रीजन्य पदार्थ अवैध रूपमा नेपाल भित्रिन नदिन तत्काल निर्देशन दिने प्रतिबद्धता जनाउनुभयो। नेपालमा बर्डफ्लु रोकथामका लागि सरकारले आवश्यक सतर्कता अपनाइरहेको भन्दै उहाँले यस विषयमा कुनै कमी हुन नदिने आश्वासन दिनुभएको नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी गराए।

पोखरेलका अनुसार भारतको उत्तर प्रदेश र बिहारमा बर्डफ्लु देखिएपछि नेपालका सीमावर्ती बजारहरूमा उच्च सतर्कता आवश्यक देखिएको छ। हाल ३० प्रतिशतभन्दा बढी सेतो अण्डा नेपालमा भारतबाट भित्रने भएकाले बजार सुरक्षाका लागि सीमा नियन्त्रण मजबुत बनाउन सरकारलाई आग्रह गरिएको पोखरेलले बताए।

पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने र सङ्घका अध्यक्ष विनोद पोखरेलले गृहमन्त्री लेखकलाई ज्ञापनपत्रसमेत बुझाएका थिए। ह्याचरी उद्योग सङ्घका वरिष्ठ उपाध्यक्षसमेत रहेका लामिछानेका अनुसार सीमामा सुरक्षा निकायको निगरानी कमजोर भएकाले पोल्ट्रीजन्य सामग्री सहजै नेपाल भित्रिरहेको छ।

भेटमा पोल्ट्री व्यवसायसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, नेपाल लेयर्स कुखुरापालक सङ्घका महासचिव भेषराज अर्याल लगायतका व्यवसायीहरूको उपस्थिति रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *