पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को पहिलो निर्वाचन सम्पन्न, करिब ५२ प्रतिशत मतदान

काठमाडौं, माघ १८ – पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को पहिलो निर्वाचन आज सम्पन्न भएको छ। निर्वाचन समितिका अनुसार, कुल १३,१०३ मतदातामध्ये ६,८२० जनाले मतदान गरेका छन्, जसले करिब ५२%  प्रतिशत देखाएको छ।

निर्वाचनमा विभिन्न पदका लागि प्रतिस्पर्धा भएको थियो। विशेषगरी उपाध्यक्ष पदमा नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन (नेभ्ला) का तीन उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। निर्वाचन समितिका अनुसार, काजीबहादुर श्रेष्ठ, लोकराज भुसाल, र रामप्रसाद मेहताबीच मुख्य प्रतिस्पर्धा भएको हो।

सत्तारूढ गठबन्धनले काजीबहादुर श्रेष्ठलाई साझा उम्मेदवारको रूपमा प्रस्तुत गरे।

निर्वाचन बिहान ८:०० बजे सुरु भई साँझ ५:०० बजे सम्पन्न भएको थियो। सातै प्रदेशमा मतदान भएको छ। बागमतीमा ९७७, कर्णालीमा ७२६, गण्डकीमा ७७७, सुदूरपश्चिममा ७५०, कोशीमा ९७४, मधेसमा १,६२८ र लुम्बिनीमा ९८८ मत खसेको छ।

खुला सदस्य, महिला सदस्य, र प्रदेश सदस्य पदमा विभिन्न उम्मेदवारहरूको प्रतिस्पर्धा देखिएको छ। परिषद्को अध्यक्ष नेपाल सरकार मन्त्रिपरिषद्ले नियुक्त गर्ने व्यवस्था रहेको छ भने अन्य दुई महिला सदस्य कृषि तथा पशुपन्छी विकास मन्त्रालय र परिषद्ले क्रमशः एक/एक जना नियुक्त गर्नेछन्।

नवनिर्वाचित नेतृत्वले व्यवसायीहरूको अधिकार सुनिश्चित गर्ने, सरकारी नीतिहरूसँग समन्वय गर्ने, तालिम तथा नियमनका विषयमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

मतगणना आज साँझ ८:०० बजेबाट सुरु हुने निर्वाचन समितिले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *