पशुपन्छी नश्ल सुधारमा चालिएका कदमहरू
पृष्ठभूमि
नेपालको आर्थिक विकासमा पशुपन्छी क्षेत्रको महत्त्वपुर्ण भूमिका रहेको छ । कृषकहरूको सदियौंदेखिको परम्परागत ज्ञान र अनुभवको सदुपयोग गर्दै पशुपन्छीपालनका आधुनिक प्रविधिहरूको समुचित उपयोगबाट स्वच्छ तथा गुणस्तरीय पशुपन्छीजन्य पदार्थको उत्पादन गरी नेपाललाई आत्मनिर्भर बनाउने र खाद्य तथा पोषण सुरक्षामा योगदान पुर्याइ दिगो आर्थिक विकासका लक्ष्य हासिल गर्न टेवा पुग्ने देखिन्छ ।नेपालको संविधानमा कृषि तथा पशुपन्छी क्षेत्रको विकास कार्यलाई संघ, प्रदेश तथा स्थानीय तहले सञ्चालन गर्ने गरी एकल र साझा अधिकारको सूचीमा समावेश गरिएको छ । संविधानमा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वअन्तर्गत कृषिको व्यावसायीकरण, विविधीकरण र आधुनिकीकरण गर्ने व्यवस्था रहेको छ ।
नेपालमा पशुपन्छीको नश्ल सुधारका प्रयास विदेशी जातका पशुहरू स्वदेश भित्र्याइ स्थानीय पशुहरूमा तिनीहरूको प्रजननको माध्यमबाट वर्णसंकर पशुहरूको उत्पादन गरेर सुरु भएको पाइन्छ । वि.सं. १९९७ मा जङ्गबहादुर राणाको प्रयासमा बेलायतबाट जर्सी गाईहरू नेपालमा ल्याई पशुमा नश्ल सुधारको सुरुवात भएको पाइन्छ । यस कार्यलाई थप विस्तार गर्न वि.सं. ०६९ सालदेखि गाईभैंसीमा कृत्रिम गर्भाधान मिसन कार्यक्रम सञ्चालन गरिएको थियो र यसले कृत्रिम गर्भाधान सेवाको विस्तारमा ठूलो उपलब्धि हासील गरेको छ ।नेपाल सरकारले प्रजनन सेवा विकासको लागि पोखरा, नेपालगञ्ज र लहानमा राष्ट्रिय पशु प्रजनन कार्यालयहरू स्थापना गरी नश्ल सुधारको कार्य जारी राखेको छ ।
राष्ट्रिय पशुपन्छी प्रजनन नीति कार्यान्वयन
देशको शासकीय संरचना संघीय प्रणालीमा रूपान्तरण भएको वर्तमान अवस्थामा पशुपन्छी प्रजननसम्बन्धी कार्यलाई स्पष्ट दिशानिर्देशका साथ सरकारको तीनै तहको समन्वय र सहकार्यमा प्रभावकारी रूपले सञ्चालन गर्नु वाञ्छनीय भएकाले राष्ट्रिय पशुपन्छी प्रजनन नीति, २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ । यो नीतिलाई संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो कार्य अधिकार क्षेत्रभित्र रही पशुपन्छी क्षेत्रलाई वातावरणमैत्री, गुणस्तरीय, प्रतिस्पर्धी, आधुनिक र व्यावसायिक रूपमा रूपान्तरण गर्न सक्षम हुने गरी आनुवंशिक स्रोत तथा क्षमताको अधिकतम सदुपयोग, संरक्षण तथा संवर्द्धन गर्ने पशु प्रजनन प्रणाली स्थापित गर्नेगरी कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्।
पशुपन्छीका विभिन्न जात र नश्को वंशाणुगत क्षमताको संरक्षण, उपयोग तथा विकास गर्दै दूध, माछा, मासु, उmन, पश्मिना र अण्डाको उत्पादकत्वमा वृद्धि गर्ने लक्ष्य लिर्इ बढ्दो पशुपन्छीजन्य पदार्थको मागलाई धान्ने गरी उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न उपयुक्त नश्ल सुधार पद्धतिको स्थापना गर्ने साथै देशभित्र प्रजनन केन्द्र तथा स्रोतकेन्द्रको स्थापना, सोको प्रमाणीकरण र नियमन गर्दै उपयुक्त नश्लको उपलब्धतामा देशलाई आत्मनिर्भर बनाउने र पशुपन्छीको आनुवांशिक स्रोत तथा जैविक विविधता संरक्षण र उपयोग गर्न उचित वातावरण सिर्जना गर्ने प्रमुख उद्देश्यहरूलार्इ आत्मसाथ गरी तीनै तहका पशु सेवाका निकायहरूबाट कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
वंशावलीमा आधारित दुधालु गाईभैंसी नश्ल सुधार कार्यक्रम
देशको जनसंख्या साथै उपभोक्ताहरूको क्रयशक्तिमा भएको वृद्धिसँगै दूध तथा दुग्धजन्य पदार्थको माग बढी रहेको तर वंशाणुगत रूपमा नै कम उत्पादन क्षमता भएका स्थानीय गाईभैंसीको बाहुल्यता भएको कारण उत्पादकत्व तथा उत्पादनमा कमी रहेकाले हाल मौजुदा गाईभैंसीहरू मध्य, उच्च दूध उत्पादन क्षमता भएका गाईभैंसीको छनोट गरी तिनको अभिलेखसमेत राख्ने र त्यस्ता गाई तथा भैंसीहरूको क्षमतामा थप सुधार गर्ने उच्च गुणस्तरको प्रमाणित बीर्य प्रयोग गरी सोबाट जम्मेका बाच्छाहरूलाई गुणस्तरको सांढे÷रांगोको रूपमा पालेर वंशावलीमा आधारित क्षमताको अभिलेखअनुसार उच्च कोटीका बहर तथा रांगालाई बीर्य उत्पादनको लागि हुर्काउन र कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन हुन नसक्ने क्षेत्रहरूमा प्राकृतिक प्रजनन कार्यको लागि वितरण गरी देशमा रहेको मौजुदा गाईभैंसीहरूको वंश सुधार गरी उत्पादकत्व तथा उत्पादन वृद्धि गर्नका लागि वंशावलीमा आधारित दुधालु गाईभैंसी नश्ल सुधार निर्देशिका २०७९ बमोजिम हाल कास्की, तनहुँ, लमजुङ, गोरखा, नवलपरासी (पूर्व), रूपन्देही, चितवन, दोलखा र काभ्रे गरी ९ जिल्लाका करिब ५ हजार ६०० पशुहरूको (बुल मदर) रेकर्डिङ भर्इ कार्यक्रम सञ्चालन भइरहेको छ भने ०८१ श्रावणपश्चात निर्देशिकामा तोकिएका १८ जिल्लामा नै यस कार्यक्रम विस्तार गर्ने लक्ष्यका साथ अगाडि बढेको पाइएको छ ।
जमेको बीर्य उत्पादन, वितरण, प्रयोग तथा निर्यातका अवसरहरूको खोज
नेपालका कुल घरपालुवा पशुपन्छीहरूमध्ये नश्ल सुधार भई बढी उत्पादकत्व भएका गाईको संख्या करिब १७ प्रतिशत र भैंसीको संख्या करिब ३६ प्रतिशत मात्र भएको हुँदा ठूलो संख्यामा पशुपन्छीको नश्ल सुधार गर्ने सम्भावना रहेको छ । गाई, भैंसी, बाख्रामा नश्ल सुधारको लागि सञ्चालित कृत्रिम गर्भाधान कार्यक्रममा आवश्यक पर्ने जमेको बीर्य (फ्रोजन सिमेन) र बङ्गुरका वीरहरुबाट तातो बीर्य (वार्म सिमेन) देशभित्रै उत्पादन गर्ने गरिएको छ । उच्च प्रजनन मान भएका जर्सी तथा होलिस्टिन गाईका भ्रूण नेपाली गाईमा प्रत्यारोपण गरी यस प्रविधिबाट उत्पादन भएका साँढेहरू तथा भारत, अमेरिका तथा कोरियाबाट रांगा तथा साँढेहरू नै विभिन्न समयमा आयात गरी बीर्य उत्पादनको लागि प्रयोग भएका छन् । साथै पहिचान गरिएका स्वदेशी नश्लका पशुपन्छीलाई स्वस्थानीय (इन सिटु) रूपमै संरक्षण र संवर्द्धन गर्ने कार्यक्रमहरू सीमित रूपमा भए पनि सञ्चालनमा छन् ।तसर्थ पालिएका अधिकांश पशुपन्छीहरूको उत्पादकत्व अपेक्षाकृत कम रहेको साथ साथै देशको अमूल्य सम्पत्तिको रूपमा रहेको रैथाने पशुपन्छीको संरक्षण संवर्द्धन र दिगो उपभोग गर्नुको विशेष महत्त्व साथै पशुपन्छीपालनको व्यावसायीकरण भइरहँदा बढी उत्पादन दिने वंशाणुगत गुण भएका जीवीत पशुपन्छीहरू साथै बीर्यको समेत आयात भई रैथाने जातसँग प्रजनन गराउने चलन बढिरहेको सन्दर्भमा राष्टि«य पशुपन्छी प्रजनन नीति, २०७८ बाट निर्देशित गरेका जातहरूको भाले पशुबाट मानक सञ्चालन प्रक्रिया (एसओपी) मा निर्दिष्ट गरेको विधि अपनाई हाल जर्सी र होलिस्टिन जातका साँढेह९क्इए० र बोयरबोकाको जमेको बीर्य उत्पादन राष्ट्रिय पशु प्रजनन कार्यालयहरूबाट भइरहेको छ भने अनुसन्धान परीक्षणका लागि गीर र शाहिवाल जातका साँढेहरूबाट समेत बीर्य संकलन गरी तरार्इका २३ जिल्लाहरूमा पशु प्रजनन कार्यालय, लहानबाट वितरण भइरहेको छ।
हाल नेपालमा वार्षिक ११ लाख ५० हजारको संख्यामा जमेको बीर्य उत्पादन भइरहेको छ भने कृत्रिम गर्भाधान सेवा सुचारु रहेका ७२ जिल्लाका ५०४ स्थानीय तहहरूमा गरी वार्षिक ७ लाख ५० हजारको संख्यामा रहेको छ । गाई र भैंसीमा कृत्रिम गर्भाधान दर क्रमशः ५६ र ४८ प्रतिशत रहेको सन्दर्भमा सोको वृद्धिका लागि प्रयोगशाला सुदृढीकरण कार्यक्रम, फिल्डस्तरमा जमेको बीर्यको गुणस्तर परीक्षण सेवा, प्राविधिक जनशक्तिको क्षमता विकासका कार्यक्रमहरू (पशु प्रजनन तथा कृत्रिम गर्भाधान तालिम, पशु प्रजनन विकृति पहिचान, उपचार तथा निवारण तालिम, विभिन्न अन्तरकृया गोष्ठी र अनुभव आदनप्रदान आदि) साथै आवश्यक लजिस्टिकहरू जस्तैः सीथ, ग्लोब, रेफ्री, कन्टेनर आदि निःशुल्क उपलब्ध भइरहेको छ । उच्च प्रजनन मान भएका राँगा तथा साँढेको जमेको बीर्य निर्यातका लागि विभिन्न सम्भावनाको खोजी कार्यसमेत सुरुवात गरिएको छ।
बंगुरमा नश्ल सुधारका लागि प्राकृतिक गर्भाधानका अलावा राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा, नेपाल कृषि अनुसन्धान परिषद्, पाख्रीबास, धनकुटा तथा केही निजी व्यावसायिक बंगुरपालक फार्मका कृषकहरूबाट स्वदेशी तथा आयातित विदेशी जातका बंगुरहरूको वीरबाट ताजा बीर्य संकलन गरी प्रयोगमा ल्याइएको छ ।
कृत्रिम गर्भाधानकर्ता अनुमतिपत्र
पशुहरूमा नश्ल सुधारका लागि गरिने कृत्रिम गर्भाधान कार्यको गुणस्तर सुनिश्चित गर्दै पशुको स्वास्थ्य संरक्षण र उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि कृत्रिम गर्भाधानकर्ताको दर्ता अभिलेखीकरण एवं नियमन गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयवाट स्वीकृत कृत्रिम गर्भाधान सेवा प्रदान गर्ने व्यक्तिलाई अनुमतिपत्र प्रदान गर्ने सम्बन्धी कार्यविधि, २०८० अनुसार तीन वटै राष्ट्रिय पशु प्रजनन कार्यालयहरू क्रमशः पोखरा ,लहान र नेपालगञ्जबाट ०८१ को वैशाखबाट अनुमतिपत्रका लागि आवश्यक सम्पूर्ण कागजातहरू दुरुस्त रहेको अवस्थामा पेश भएपश्चात केही घण्टाभित्रै अनुमतिपत्र प्रदान गरिने र सोको अवधि २ वर्षलाई मान्य हुने व्यवस्था मिलाइएको छ ।हाल देशभरिमा जम्मा कृत्रिम गर्भाधानकर्ताहरू करिब २ हजार ७०० रहेता पनि सक्रिय कृत्रिम गर्भाधानकर्ताहरूको संख्या १ हजार ९५० हाराहारिमा रहेको तथ्यांक छ ।
भ्रूण प्रत्यारोपण कार्यक्रम
एउटा उत्कृष्ट ठानिएको गाईको पाठेघरबाट सात÷आठ दिनको भ्रूणलाई निकालेर आमाको शरीर बाहिर सुषुप्त अवस्थामा संरक्षण गरेर अर्को गाईको पाठेघरमा प्रत्यारोपण गरेर सन्तान उत्पादन गर्ने भ्रूण प्रत्यारोपण प्रविधि नेपालमा पनि सफलतपूर्वक भित्रिएको छ । यस प्रविधिबाट राम्रो उन्नतशील पोथी पशुबाट छोटो समयमा बढीभन्दा बढी सन्तान उत्पादन गर्न सकिन्छ । जमेका भ्रूण प्रयोग गरी व्यावसायिक रूपमा भ्रूण प्रत्यारोपण गरिने विकसित देशहरूमा भ्रूण प्रत्यारोपणबाट हासिल हुने गर्भाधान दर ३५ देखि ४५ प्रतिशतसम्म रहेको पाइन्छ भने नेपालको अहिलेसम्मको सीमित अनुभवमा सो गर्भाधान दर १८ प्रतिशत हाराहारी मात्र छ । यस प्रकार हालसम्म उपलब्ध भ्रूणहरूबाट १० वटा मात्र बाच्छा जन्माउन सकिएको छ भने नार्क, विश्वविधालय, निजी क्षेत्रका विज्ञ तथा सरकारी र गैरसरकारी निकायहरूसँगको सहकार्यमा प्रत्येक वर्ष भ्रूण प्रत्यारोपण कार्यलार्इ निरन्तरता दिइएको पाइन्छ । संख्यात्मक रूपमा उपलब्धि सानो देखिएता पनि योजनाबद्ध रूपमा लामो समयसम्म काम गर्न सके नेपालमा गाईको नश्ल सुधार कार्यमा यसले अत्यन्त सकारात्मक असर पार्नेछ ।
सेक्स्ड सिमेन खरिद, वितरण तथा स्वदेशमै तयारीका लागि अध्ययन
सेक्स्ड सिमेन भनेको सिमेन (बीर्य) लाई लिङ्गअनुसार छुट्याएर तयार पारिएको बीर्य हो। नेपालमा सामान्यतया गाईका बाच्छीको व्यवस्थापन सम्भावना बढी हुनाले बाच्छी क्रोमोसोम भएका शुक्राणुलाई प्राथमिकताका साथ किसानहरूले विशेषगरी बढी उत्पादन दिने गाईको सङ्ख्या बढाउनका लागि सीमित रूपमा यसको प्रयोग गरिरहेका छन् । तुलनात्मक रूपमा महँगो यो प्रविधिले किसानहरूलाई आर्थिक लाभ दिने, उत्पादनशीलता बढाउने, र पशुधनको व्यवस्थापन गर्न मद्दत गर्छ। विगतदेखि हालसम्म पशु सेवा विभाग, दुग्ध विकास बोर्ड, प्रादेशिक मन्त्रालयहरूका साथै कतिपय स्थानीय सरकारबाट सेक्स्ड सिमेन खरिद गरी पशु नश्ल सुधारमा प्रयोग भइरहेको छ ।
स्वदेशमै सेक्स्ड सिमेन उत्पादनका लागि विभिन्न समयमा विषय उठान, छलफल, अन्तक्र्रिया भएता पनि यसै वर्ष राष्ट्रिय पशु प्रजनन कार्यालय, लहानमा सेक्स्ड सिमेन उत्पादनका लागि सम्भाव्यता अध्ययन गरी सोको प्रतिवेदनपश्चात कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागको निर्णयबाट आगामी कार्यदिशा अगाडि बढाइनेछ ।
प्रोजेनी टेस्टिङ
प्रोजेनी टेस्टिङ भन्नाले दूध, मासु उत्पादन गर्ने पशुहरूको सुधार र चयनको लागि प्रयोग गरिने एक वैज्ञानिक विधि हो, जसमा एउटा विशेष भाले जनावरको सन्तानहरूको गुण परीक्षण गरेर त्यो भाले पशुको प्रजनन क्षमता मूल्याङ्कन गरिन्छ। यस प्रक्रियामा, एउटा साँढे वा राँगोको उत्पादन, स्वास्थ्य, शरीर संरचना, र आनुवंशिक गुणहरूको मूल्याङ्कन गर्नको लागि त्यसको सन्तानहरूको परीक्षण गरिन्छ। यसको उद्देश्य भनेको उच्च पशुजन्य पदार्थको उत्पादन गर्ने पशुहरूको सुधार गर्नका लागि उचित प्रजनन चयन गर्नु हो। प्रोजेनी टेस्टिङले बायोलोजिकल र आनुवंशिक आधारमा पशुहरूको गुणलाई विश्लेषण गरेर सर्वोत्तम पशुको चयन गर्न मद्दत पुर्याउँछ।
प्रोजेनी टेस्टिङको प्रक्रियाका कार्यक्रमहरू अन्तर्गत भाले जनावरको चयन, प्रजनन, सन्तानको पालनपोषण, सन्तानहरूको मूल्याङ्कन, नतिजाको विश्लेषण, उन्नति र चयनजस्ता मापदण्डहरूको परीक्षण गरिन्छ। यसै वर्षबाट राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखराले दिगो रूपमा पशुपन्छी नश्ल सुधार र पशुपन्छीजन्य उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि प्रोजेनी टेस्टिङको कार्यक्रम अगाडि बढाएको छ ।
पशुपन्छी नश्ल सुधार अनुसन्धान
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत सञ्चालित विभिन्न वस्तु बाली राष्ट्रिय अनुसन्धान कार्यक्रमहरूमध्ये पशुपन्छीको नश्ल सुधार तथा आनुवांशिक स्रोत संरक्षण कार्यक्रम एक हो ।पशुपन्छीको उत्पादन र उत्पादकत्व वृद्धि गरी नेपाली जनताको पोषण सुरक्षा र जीविकोपार्जमा सुधार गर्नुका साथै देशको अग्रणी अनुसन्धान संस्थाको रूपमा नेतृत्व गर्ने र किसानहरूको समस्यामा आधारित, सहभागीतामूलक तथा व्यवस्थित अनुसन्धान कार्यहरू गर्दै नवीनतम र उपयोगी प्रविधिहरू कृषकसमक्ष सिफारिस गर्ने कार्य नार्कबाट भइरहेको छ ।
पशुपन्छीको नश्ल सुधार तथा आनुवांशिक स्रोत संरक्षणका लागि भौगोलिक क्षेत्र उपयुक्त हुने पोषण, चरन तथा घाँसेबाली, प्रजनन, स्वास्थ्य, उत्पादन तथा व्यवस्थापन र सामाजिक, आर्थिक पक्षसम्बन्धी अनुसन्धान गरी विकसित उपयोगी प्रविधिहरूको प्रमाणीकरण र सिफारिस गर्दै, विशेषज्ञ तथा अनुसन्धान सामग्रीको आदानप्रदान र सहयोगात्मक अनुसन्धानको माध्यमबाट राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग निकटतम सम्बन्ध राख्दै, सरकारलाई नीति र नियम निर्माण र कार्यान्वयनमा सहयोग गरिरहेको छ ।
अन्त्यमा, पशुपन्छीको जातीय विविधताको आधारमा देश समृद्ध भए पनि स्थानीय पशुपन्छीहरूको उत्पादकत्व तुलनात्मक रूपमा कम भएकाले राष्ट्रियस्तरमा बढ्दो पशुपन्छीजन्य पदार्थको मागलाई धान्ने गरी उत्पादन तथा उतपादकत्वमा वृद्धि गर्न नसकिएको, पहिचान गरिएका स्वदेशी नश्लहरूमध्ये कतिपय नश्लहरूको संख्या निरन्तर घटिरहेको साथै लोप हुने खतरा रहेको सन्दर्भ तथा स्वदेशी नश्लका पशुपन्छीको आनुवंशिक चारित्रीकरण (जेनेटिक क्यारेक्टराइनजेशन) र क्यारियोटाइपिङ्ग भई तिनीहरूको उत्पादन क्षमताबारे अनुसन्धान भएकोमा तिनलाई उपयुक्त प्रजनन प्रक्रियामार्फत उपयोग गर्न नसकिएको अवस्था रहिरहेको परिपेक्ष्यमा तीनै तहका सरकारी निकाय, अनुसन्धानका निकाय , विश्वविधालय , निजी उद्यमीहरू , गैरसरकारी संस्थालगायत सम्पूर्ण सरोकारवालाहरूको संयुक्त प्रयासमा मात्र नेपालमा दिगो रूपमा पशुपन्छी नश्ल सुधार सम्भव भई पशुपन्छीजन्य उत्पादन तथा उत्पादकत्व वृद्धि सम्भव रहेको छ ।
लेखक : राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखराका प्रमुख हुनुहुन्छ।